जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

चितवन-  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा उहाँले जल, जङ्गल र जमिनको सही ढङ्गले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । यस्तो विकासले यहाँको समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि राम्रो कुरा हो ।” यी सबै जल, जमिन र जङ्गलसँगै सम्बन्धित रहेको भन्दै उहाँले जिल्लाको विकासका निम्ति मात्रै नभई राष्ट्रियरुपमा आर्थिक विकासका निम्ति मोडेल रहेको बताउनुभयो । आफूले यसलाई चितवनको विकासको मोडेलको रुपमा लिएको उहाँको भनाइ थियो ।

सिबीच मोडलको रुपमा नारायणी नदीको विकास गर्नुले यहाँको पर्यटन, सौन्दर्य र जलको सदुपयोगको दिशामा पानि एउटा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । नेपालका धेरै ठाउँमा जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उहाँले सिङ्गापुरको सन्तोसा आइल्याण्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । यसले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत आकर्षित गर्ने उहाँको भनाइ थियो ।

विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उहाँले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन् । चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरुपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ ।” जिल्लाको विकासका लागि ठूला–ठूला परियोजना सोचिएको भन्दै उहाँले भन्नुभयो, “शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन् ।” यो विकासको पनि केन्द्र बिन्दु होस् भन्नका लागि सबैले सपना देखेको उहाँको भनाइ छ ।

देशको राजनीतिको केन्द्र चितवन बनेको भन्दै उहाँले देशभरिका जनताले अध्ययन गर्ने गरी यहाँको विकास गरिने बताउनुभयो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले सो ठाउँमा पर्यटकीय पूर्वाधारका लागि विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको बताउनुभयो । जसका लागि रु २९ करोड आवश्यक हुने उहाँको भनाइ थियो । हाल पर्यटन बोर्डले आह्वान गरेको बोलपत्रमा रु छ करोड ६७ लाखमा ठेकेदार कम्पनीले स्वीकार गरेको छ ।

दाहालका अनुसार गत वर्ष उद्योग वाणिज्य सङ्घसँग मिलेर रु ९७ लाखको पदमार्ग निर्माण गरी सकिएको छ । हाल दुई दशमलव पाँच किलोमिटर लामो पदमार्ग, तीन वटा पार्किङस्थल र जग्गा व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । नारायणीको किनारलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महानगर लागि परेको उहाँले बताउनुभयो ।

पुलबाट पूर्वतर्फको नारायणी किनारको करिब ३० बिघा क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने र पश्चिमतर्फको नगरवनलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने दाहालले जानकारी दिनुभयो । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बहुवर्षीय आयोजनाको रुपमा यसको विकास गरिने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्