CORONA

नेकपाको गण्डकी प्रदेश कमिटीको बैठक पोखरामा सुरु

पोखरा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को गण्डकी प्रदेश कमिटीको बैठक पोखरामा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङसहित प्रदेश कमिटीका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकमा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङको मार्ग निर्देशनपछि सुरु भएको बैठकमा प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनमाथि ग्रुप विभाजन गरेर छलफल गरिएको थियो ।

१२ वटा ग्रुप विभाजन गरेर अध्यक्ष पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनमाथि सामूहिक छलफलपछि सुझाव पेश गर्ने कार्यक्रम तय गरिएको नेकपाका कास्की जिल्ला सह–इन्चार्ज श्रीनाथ बरालले जानकारी दिए । प्रदेश सदस्यहरुलाई वितरण गरिएको सामाग्रीहरुमा नेकपा केन्द्रिय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णयहरु समावेश गरिएको प्रतिवेदन र गण्डकी प्रदेश सरकारका दुई वर्ष नामक पुस्तक मुख्य रहेका छन् ।

बुधबारको बैठकमा ग्रुप लिडरले सुझाव पेश गरि सकेपछि निर्णयमा पुग्ने र संगठनात्मक कार्य विभाजन साथै प्रदेश कमिटीको कार्यालय, कार्यालय टिम र सचिवालय निर्माण गर्ने र पदाधिकारी बैठकका निर्णयको अनुमोदन लगायतका एजेण्डामाथि छलफल हुने छन् ।

पार्टीले निर्देशन गरेको ३ महिने अभियानलाई लिएर पनि बहस चल्ने छ । गण्डकी प्रदेशमा चैतको १ गतेबाट जेठ मसान्तसम्म पार्टीले निर्देशन गरेको ३ महिने अभियानमा लाग्ने उनले सुनाए । सामुहिक छलफलपछि पार्टीले अन्तिम निर्णय सार्वजनिक गर्ने उनले बताए । पोखरा सभागृहमा उक्त बैठक चलिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्