सरकार अलोकप्रिय बनाउन विपक्षीहरू कुखुराको चल्ला जस्तै लागिपरेका छन् : प्रम ओली

कास्की – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको बताएका छन् ।

पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको पनि आरोप लगाएका हुन् ।

‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘नन् इस्युलाई इस्यु बनाउने ? किन यस्तो भइरहेको छ ? एउटा अस्तित्व रक्षा गर्नका लागि गरिरहेका छन् अर्को केही न केही त गर्नुपर्‍यो नि, त्यसैले ।’

प्रधानमन्त्री ओलीले विपक्षीलाई कुखुराको चल्लासँग तुलना पनि गरेका छन् ।

‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ । त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘संसदमा विधेयकहरू पेश प्रस्तुत गर्छौं, त्यहाँ छलफल गरे हुन्छ नि । संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छर्ने, सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने भइरहेको छ ।’

संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । पछिल्लो समय सरकारले पेश गरेका मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार सम्बन्धी विधेयकहरू प्रतिपक्षी दलले विरोध गरिरहेका छन ्।

सेतोपाटीबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्