विश्वकपमा छनोट हुने पहिलो टोली बन्यो जर्मनी

सन् २०२२ को आयोजक कतारसँगै विश्वकपमा छनोट हुने जर्मनी पहिलो टोली बनेको छ । उत्तरी मेसेडोनियालाई हराउँदै जर्मनीले विश्वकपमा स्थान पक्का गरेको हो । सोमबार राति भएको खेलमा जर्मनीले ४–० को शानदार जीत हासिल गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा जर्मनीले गोल वर्षा गरेको थियो । जर्मनीको जीतमा टिमो वेर्नरले दुई तथा काई हाभर्टज र जमाल मुसिआलाले एक–एक गोल गरे ।

समूह जेमा रहेको जर्मनीले ८ खेलबाट २१ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको रोमानियाको १३ अंक रहेको छ । रोमानियाले सोमबार नै अर्मेनियालाई १–० गोलले हरायो । त्यस्तै, आइसल्याण्डले लिचटेन्सटाइनलाई ४–० ले हरायो । चारपटकको विश्व विजेता जर्मनी २० औँ पटक सर्वोच्च प्रतियोगितामा छनोट भएको हो । जर्मनीभन्दा ब्राजिल मात्र अघि २१ पटक विश्वकपमा छनोट भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्