दार्चुलाको छाङ्गरु र तिङ्करमा सञ्चार विच्छेद

दार्चुला – सामरिक महत्त्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो ।

गएको वर्षदेखि अवरुद्ध बनेको नेपाल टेलिकमको स्काई फोनले काम नगर्दा स्थानीयवासीले समस्या भोग्नुपरेको छाङ्गरुका बासिन्दा योगेश बोहराले बताउनुभयो । गएको वैशाख/जेठमा कुञ्चा सरेका स्थानीयवासीले फोन गर्न पाएका छैनन् ।

छाङ्गरुमा कहिलेकाहीँ भायनेटले काम गर्छ, बोहराले भने, भायनेट नचलेको भए हामी केही खबर गर्न सक्ने अवस्थामा हुने थिएनौँ ।

भायनेट पनि सधैँ नचल्दा समस्या हुने गरेको छ । कहिलेकाहीँ महिनौँ दिनसम्म सम्पर्कविहीन बस्नुपरेको उनले बताए । नेपाल टेलिकमको स्काई फोन चल्दैन । टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले दुई पटक गएर मर्मत गरे पनि स्काईले काम गर्न नसकेको स्थानीयवासी बताउँछन् ।

एक वर्ष छाङ्गरुमै फोरजी सेवा चल्ने नमस्तेको टावर जडान गरिएको भए पनि अझै सञ्चालनमा ल्याइएको छैन । टावरको काम भए पनि आवश्यक उपकरण नआइपुग्दा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ । तिङ्कर गाउँमा भने कुनै पनि फोनले काम गर्दैन । छाङ्गरुमा राखिएको स्काई टावरले तिङ्कर गाउँमा काम गर्दैन । तिङ्करका लागि यस वर्ष नमस्ते टावर राख्ने गरी सर्वेक्षण गरिएको टेलिकमका प्रमुख गुरुङले बताए ।

छाङ्गरुमा रहेको स्काई टावरमा सोलार पावर अभावले पनि काम गर्न नसकेको गुरुङले जानकारी दिए । नियमित घाम नलाग्दा पावर बचत हुनसकेको छैन । छाङ्गरुका लागि थप सोलार प्यानल माग गरिएको उनले बताए ।

मोबाइल फोनले काम नगर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि समस्या भोग्दै आएका छन् । छाङ्गरुमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्ममा ल्यान्डलाइन फोन जोडिएको छ । ल्यान्डलाइन पनि नियमित सञ्चालन नहुँदा समस्या हुने गरेको सुरक्षाकर्मी बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्