अध्यादेश खारेज गर्न प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक

काठमाडौँ – दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार बेलुका चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार सोमबार चार बजे बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजको निर्णय गर्ने भएको हो ।

मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ । सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा सोमबार बिहान ब्रिफिङ गरेका छन् ।

माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बैठकमा प्रचण्डले अध्यादेश फिर्ता लिन आजै चार बजे मन्त्रिपरिषद बैठक बस्ने र त्यसलगत्तै सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डामा छलफल हुने ब्रिफिङ गरेका बताए । चाँडोभन्दा चाँडो मन्त्रिमण्डललाई पूर्णता दिनेगरी तयारीहरु भइरहेको छ ।

सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । संविधान अनुसार संसदको अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ । अध्यादेश पेस भएसँगै ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्