यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था

 यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको अगुवाइमा सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ । नेपाल स्काउट समेतका गरी करिब पाँच हजार स्वयंसेवक परिचालन गरिने कोषले जनाएको छ ।

दर्शन लाइनको सहजीकरणका लागि मुख्य क्षेत्र बाहिर मात्र स्वयसेवक परिचालित हुनेछन् । महाशिवरात्रिमा ३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन् ।

तिलगङ्गा क्षेत्र, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त ट्राफिक प्रहरी प्रभाग, गौशाला, सिफलचौर, गुह्येश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

पशुपति क्षेत्र कानूनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेत गाँजा–भाङ, जाँडरक्सी जस्ता नशालु पदार्थको बिक्री वितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न कोषले सबैलाई अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्