काबुल बिस्फोटमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु, अमेरिकी राष्ट्रपति आक्रोशित, माफ नगर्ने चेतावनी

काठमाडौँ – बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित दर्जनौं मानिसको मृत्यु भएको छ ।

न्युयोर्क टाइम्सका अनुसार उद्धारका लागि विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित गरी भएका यी दुई बिस्फोटमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १३ पुगेको हो ।

अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता हुन लागेको अमेरिकी सैनिकले जाँदाजाँदै भोगेको यो वर्षौंपछिको ठूलो मानवीय क्षति हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १३ जना सैनिकको मृत्यु भएको र १५ जना घाइते भएको जनाएको छ ।

सन् २०११ को अगस्टमा अमेरिकी सैनिकको एक हेलिकप्टर खसाल्दा ३० सैनिकले ज्यान गुमाएका थिए । त्यसपछि अफगानिस्तानमा कुनै एउटै घटनामा यति धेरै अमेरिकी सैनिकको मृत्यु भएको थिएन ।

काबुलका स्वास्थ्य अधिकारीहरूले बिस्फोटमा मारिने सर्वसाधारणबारे फरक–फरक तथ्यांक दिएका छन् । केहीले ३० देखि ६० जना मारिएको बताएका छन् भने तालिबानका एक जना प्रवक्ताले १३ सर्वसाधारण मारिएको र ६० जना घाइते भएको बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले बिस्फोटस्थल वरपर महिला, बालबालिका र पुरुषहरूका शव छरपस्ट परेको बताएका छन् । बिहीबार साँझको बिस्फोटको जिम्मा मुस्लिम आतंकवादी समूह स्लामिक स्टेटले लिएको छ । अफगानिस्तानमा रहेका आफ्ना समर्थकहरूका लागि उक्त बिस्फोट गरिएको उक्त समूहले बताएको छ ।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त बिस्फोटले आफू विक्षिप्तसँगै आक्रोशित भएको बताएका छन् । बिस्फोटपछि ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको ज्यान लिनेलाई नछोड्ने बताएका छन् ।

‘जसले यो बिस्फोट गरे र अमेरिकालाई हानी पु¥याउन चाहने जोसुकैले पनि थाहा पाइराख्नू हामी माफ दिनेवाला छैनौं न त बिर्सने छौं,’ बाइडेनले भने,‘हामी तिमीहरूलाई फेला पार्नेछौं र यसको मूल्य चुकाउन लगाउने छौं ।’

यसअघि बिहीबार बिहानै अमेरिका, बेलायत, अष्ट्रेलियालगायत मुलुकले गुप्तचरको सूचनाका आधारमा काबुल विमानस्थलमा आतंकवादी हमला हुन सक्ने भएकाले सचेत रहन आफ्ना नागरिकलाई आग्रह गरेका थिए ।

अगस्ट १५ मा विद्रोही समूह तालिबानले काबुल कब्जा गरेपछि अमेरिकी र नाटो सैनिकले विदेशी र अफगान नागरिकको उद्धारका लागि काबुल विमानस्थल सञ्चालन गरिरहेका छन् । तालिबान काबुल पसेपछि बिहीबार पहिलो पटक काबुलमा यति ठूलो आक्रमण भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्