अनैतिक सम्बन्धको आशंकामा आफ्नै बुवा र पत्नीको हत्या

काठमाडौँ – धनुषामा ससुरा र बुहारीको हत्या गरेर शव एकै साथ गाडिएको अवस्थामा फेला परेको छ । मंगलबार बिहान दुवै जनाको शव फेला परेको हो ।
दुवै जनाको हत्या मृतक युवतीको पतिले नै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

छोराले नै बुवा र श्रीमतीको हत्या गरेको बारे प्रहरीले अनुसन्धान गर्दै जाँदा दुवै बीचको अनैतिक सम्बन्धको आशङ्का कारक रहेको खुलासा भएको छ । अनैतिक सम्बन्ध रहेको आशङ्कामा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललिया बस्ने २७ वर्षीय भागेश्वर मण्डलले बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्बिकादेवी मण्डलको हत्या गरेको बयान दिएको धनुषा प्रहरीले जनाएको छ ।
​दुबैजनाको शव घर नजिकै रहेको झाडीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार भागेश्वर एक वर्षअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्केका थिए । घर आएको केही दिन नबित्दै बुवा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशङ्का भागेश्वरको रहँदै आएको थियो । यो विषयलाई लिएर पती र पत्नीबीच पटक पटक विवाद हुँदै आएको थियो । सोमबार राति पत्नी र बुवा दुबैसँग भागेश्वरको झगडा भएको स्थानीयवासीको भनाइ छ ।

झगडा पछि भागेश्वरले बुवा र श्रीमतीको हत्या गरेको हुन सक्ने स्थानीयको आशङ्का छ । भागेश्वर र अम्बिकादेवीका एक छोरा र एक छोरी छन् । झगडा भएपछि गए रातिदेखि नै ससुरा र बुहारी दुवै बेपत्ता भएका थिए । दुवैको खोजी गर्दै जाँदा शव गाडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना लगतै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर शव गाडेको कुरा स्वीकारेको प्रहरीको भनाई छ । मृतक दुबैजनाको टाउकोमा गहिरो चोट देखिएको छ । गत राति नै हत्या गरेर शव गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शव निकालेर प्रहरीले अहिले घटनास्थलमा मुचुल्का गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्