शर्मालाई नेतृत्व हस्तान्तरण गरेर बिदा भए प्रधानसेनापति थापा

काठमाण्डौ – प्रधान सेनापति पूर्णचन्द्र थापाले कायममुकायम प्रधान सेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई जिम्मेवारी हस्तान्तरण र औपचारिक बुझबुझारथ गरेका हुन् ।

आउँदो भदौको २५ गतेदेखि सेवानिवृत्त हुन लाग्नुभएका प्रधानसेनापति थापा आज सोमवारदेखि बिदामा बस्न लागेकाले नेतृत्व हस्तान्तरण गरेका हुन् ।

गएको साउन १७ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गरेकी थिइन् । ज्येष्ठताका क्रममा रहेका शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायममुकायम नियुक्त गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

कायममुकायम जिम्मेवारी तोकिनुभएका शर्माले आउँदो भदौ २५ गतेदेखि नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रूपमा सैनिक नेतृत्व सम्हाल्नेछन् ।

स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्मा भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्यान्ड र पाकिस्तानबाट प्रतिरक्षा एवम् बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।

सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहनुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्