टेलिकमको एसईई अफर : निःशुल्क सिम, एक महिनासम्म कल र डाटामा पनि शुल्क नलाग्ने

काठमाण्डौ – नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि निःशुल्क सिम कार्ड, एक महिनासम्म निःशुल्क कल र डाटा सेवा दिने भएको छ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले कक्षा १० को मार्कशिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

सिम लिइसकेपछि *1600# डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । स्टुडेन्ट रजिस्ट्रेशन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न, १० वटा एसएमएस पठाउन र एक सय एमबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यसअनुसार ३० दिनसम्म तीन हजार एमबी डाटा, तीन सय मिनेट कुराकानी र तीन सय वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । यो सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र लागू हुनेछ । यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याक समेत उपलब्ध गराइएको छ । यस प्याकमा ५० रुपैयाँ र त्योभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ । यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ । बोनसबापत यसरी प्राप्त हुने सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ ।

विद्यार्थीहरूले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिस्ट्रेशन प्याक सुविधा लिन परेमा प्रयोग गरिरहेको मोबाइलबाट ८ज्ञटण्ण्३ मा डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा त्यो सिमलाई विद्यार्थी सिमका रूपमा रजिस्टर गर्दछ ।

Student Registration Pack / Bonus On Recharge Pack​​ बाट प्राप्त हुने कल मिनेट, एसएमएस र डाटा रजिस्टर गरेको र रिचार्ज गरेकोे ३० मिनेटभित्रमा प्राप्त गर्न सकिनेछ ।

एसईईका विद्यार्थीहरूका लागि कम्पनीले निःशुल्क प्रदान गरेको वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमको रूपमा रूपान्तरण गरिएको सिम कार्डमा आवश्यकताअनुसार ई–शिक्षा प्याकेज पनि लिन सकिनेछ । यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समय अवधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मुख्य ब्यालेन्सको रूपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने योबाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी त्यही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । अहिलेलाई एसईई अफर सहितको नयाँ सिम तीन महिनासम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्