दिल्लीमा मृगौला प्रत्यारोपणपछि झलनाथ खनालको अवस्था के छ ?

काठमाडौँ – भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अवस्थामा सुधार आइरहेको उनको परिवारका एक सदस्यले बताएका छन्।

तर उनी सघन उपचार कक्षमा चिकित्सकीय निगरानीमा छन्। खनालको बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो।

“उहाँको पाचनसम्बन्धी सबै प्रक्रिया र मापकहरू सबै सामान्य छन्,” छोरा निर्भिक चित्रकार खनालले भने, “अहिले इम्यूनोसप्रेसन्ट (प्रत्यारोपित अङ्गलाई शरीरले अस्वीकृत गर्न रोक्ने औषधि) प्रयोग गरिएका कारण आईसीयूमा राखिएको छ।”

दिल्लीबाट बीबीसीसँग कुरा गर्दै उनले आफ्ना बुवालाई अझै १० दिन आईसीयूमा राखिने बताए।”उहाँले आजबाट नरम खानेकुरा खान पनि सुरु गर्नुभएको छ,” उनले भने।

नेपालमा खनालको नियमति जाँच तथा उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार सङ्क्रमणको जोखिमका कारण खनाललाई अझै केही समय चिकित्सकीय निगरानीमा राखिन लागेको हो। खनाललाई ससुरालीतर्फका एक आफन्तले मिर्गौला दान गरेको भनिएको छ। तर ती व्यक्तिको परिचय खुलाइएको छैन।

खनाल किन गए भारत?

डा. काफ्लेका अनुसार खनाललाई गत वर्षदेखि नै मिर्गौलाको समस्याले च्याप्दै लगेको थियो।

केही समयअघि खनाललाई कोरोनाभाइरस सङ्क्रमण पनि भएको थियो। “उहाँलाई केही वर्षअघिबाटै मिर्गौलाको समस्या देखिएर औषधि खाँदै बस्नुभएको रहेछ। गत वर्ष कोभिडले च्यापेपछि झन्डैझन्डै डायालिसिस गर्नुपर्ने अवस्था आइसकेको थियो,” डा. काफ्लेले भने।

खनाललाई जेठ अन्तिममा पोस्ट-कोभिड सङ्क्रमणले गालेपछि विविध परीक्षणका लागि नमुना भारत पठाउनुपर्ने भएको र उतै उपचारका लागि जान चिकित्सकहरूले सल्लाह दिएको काफ्लेको भनाइ छ।

थप उपचारका लागि असारमा नयाँ दिल्लीस्थित एपोलो अस्पताल पुगेका खनालले त्यहीँ मिर्गौला प्रत्यारोपण गरेका हुन्। डा. काफ्लेका अनुसार खनालले प्रत्यारोपणपछिको नियमित जाँच भने नेपालमै गराउनेछन्।

बीबीसीबाट 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्