सगरमाथा र शेर्पाले नेपाललाई चिनाएको छ : देउवा

काठमाण्डौ – सगरमाथा र शेर्पा जातिले नेपाललाई विश्वमा चिनाएको नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक शेर्पा सङ्घले २१४७औँ ग्याल्बो ल्होसारका अवसरमा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले शेर्पा समुदायकै कारण नेपाल विश्वमा चिनिएकाले हीन भावना नराख्न शेर्पा समुदायलाई आग्रह गर्नुभयो ।

’सगरमाथा र शेर्पा दुवै नेपालका गर्व हुन्, यसबाट नेपालको संस्कृति विश्वमा चिनिएको छ, शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्बो ल्होसारमा दिँदै आएको सार्वजनिक बिदा वर्तमान सरकारले कटाएको छ, काङ्ग्रेस नेतृत्वमा सरकार बनेपछि बिदा पुनर्स्थापना हुन्छ’, सभापति देउवाले भन्नुभयो ।

तेञ्जिङ नोर्गे शेर्पालाई पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेकै कारण विश्वमा धेरैले चिन्ने गरेकाले त्यसप्रति गर्व गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

सांसद जीपछिरिङ लामाले सरकारले आमसञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था गरिरहेको बताउँदै केही सञ्चारमाध्यम भने सरकारका गलत क्रियाकलापको पनि संरक्षण गरेर प्रमुख प्रतिपक्षीको समाचार सम्प्रेषण नगर्ने गरेको बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत भूकम्पपछि भत्किएका गुम्बा पुनर्निर्माणमा भेदभाव गरेको सांसद लामाको आरोप थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्