देउवा र निधिबीच ‘वान टु वान’ वार्ता, सभापतिमा सहयोग गर्न देउवालाई निधिको आग्रह

काठमाडौँ – नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई भेटेर आफू सभापति उठ्ने तयारी गरेकोले सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार साँझ करिब पौने घन्टा बालुवाटारमा देउवा र निधिबीच कुराकानी भएको हो । पार्टी महाधिवेशन आउन २९ दिनमात्र बाँकी छन् । निधिले आफू अब सभापति उठ्ने र तयारीका लागि सम्पर्क कार्यालय छिट्टै खोल्ने देउवालाई जानकारी गराएका थिए । सम्पर्क कार्यालय उद्घाटन गर्न निधिले देउवालाई आग्रह गरेका थिए ।

देउवा र निधिबीच ‘वान टु वान’ कुराकानी भएको निधिको सचिवालयले जनाएको छ । निधिले सभापति उठ्ने र कार्यालय नै खोल्ने बताएपछि देउवाले त्यसो नगर्न बरु आफूलाई नै सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए । ‘यो मेरो लागि अन्तिम पटक हो । अर्कोपटक सभापति उठ्न विधानले पनि मिल्दैन । मलाई अहिले सहयोग गर्नुस् । अर्कोपटक तपाईं नै त हो,’ देउवाले निधिसँग भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो ।

तर निधिले आफू सभापति उठ्न तयारी गरिसकेकोले सहयोग गर्न नसक्ने बताएका थिए । छलफलमा क्रियाशील सदस्यतामा देखिएको विवाद, समायोजनबारे विवाद र सरकारमा मन्त्री छान्दा ध्यान दिनुपर्ने कुराबारे पनि निधिले प्रधानमन्त्री देउवासँग कुरा राखेका छन् ।

अरु पार्टी छाडेर काङ्ग्रेस प्रवेश गरेकालाई निधि संयोजन रहेको समायोजन समितिले काङ्ग्रेसमा समायोजन गरेको थियो । समायोजन समितिले निर्णय गरी केन्द्रीय समितिबाट पारित भएका क्रियाशील लगायतमा अहिले वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले फेरि फाइल खोल्ने निर्णय गरेकोमा निधिले आपत्ति जनाएका थिए ।

देउवाले यो सबै विषय बुधबार अपरान्ह ३ बजे बस्ने पदाधिकारी बैठकमै राख्न निधिलाई भनेका थिए । काङ्ग्रेसमा बारा, सप्तरी लगायत जिल्ला र करिब एक सय वडामा क्रियाशील सदस्यता विवाद छ । यसैकारण साउन १२ मा हुनुपर्ने वडा अधिवेशन स्थगित छ । निधिले प्रधानमन्त्री देउवालाई मन्त्री बनाउदा समावेशी बनाउन पनि आग्रह गरेका थिए। साथै निधिले सहकारी बैंक स्थापना, महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्र संरचना लगायतमा सरकारले सहयोग गर्नुपर्ने बताएका थिए । यसबारे प्रधानमन्त्री देउवाले आफू सकारात्मक भएको बताएका थिए ।

देउवालाई लामो समयदेखि सहयोग गरेका निधि यसपटक सभापति उठ्ने भन्दै यसअघि दुई पटक सभापति देउवाससँग कुरा गरिसकेका थिए। काङ्ग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म छ । सेतोपाटीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्