बाँकेमा फेरी कोरोना संक्रमण बढ्न थाल्यो, सतर्कता अपनाउन आग्रह

बाँके – भेरी अस्पताल नेपालगञ्जमा कोभिड सङ्क्रमित विरामीहरुको सङ्ख्या फेरि बढ्न थालेको छ । नयाँ सङ्क्रमितको सङ्ख्या समेत साउन दोश्रो सातादेखि बढ्न थालेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क ब्यक्ति तेज वलीले जानकारी दिए ।

अहिले फेरी सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ , वलीले भने । समुदायस्तरमा कोभिड विरुद्ध सावधानी अपनाउन जरुरी देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा साउनको ५ गते कोभिड सङ्क्रमित विरामी १८ जनाको उपचार भईरहेकोमा सोमबारसम्म अस्पतालमा उपचाररत कोभिड सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । जिल्लाका प्रयोगशालामा भईरहेका परीक्षणमा प्रत्येक दिन नयाँ सङ्क्रमितको सङ्ख्या थपिने गरेको छ ।

जिल्लामा कोभिड सङ्क्रमणको दर घटेपनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा कायमै राखिएपनि सार्वजनिक विद्यालय, सभा सम्मेलन बाहेक अन्य कार्यमा छुट दिइएको छ । तर नेपालगञ्ज र आसपासका क्षेत्रमा सामाजिक दुरी कायम नभई भिँडभाड भएको र अधिकाँश ब्यक्तिहरु मस्क बिना नै आवागमन गर्न थालेपछि बाँकेमा फेरी कोभिडको जोखिम बढेको भन्दै सचेतनामुलक अभियान समेत सञ्चालन भईरहेका छन् ।
वैशाखको मध्यतिर उच्च गतीमा बढेको कोरोनाको दोश्रो चरण त्यसपछि विस्तारै कम हुन थालेकोमा फेरी सङ्क्रमण बढ्न थालेको अस्पताल र प्रयोगशालाको तथ्याङ्कले देखाएको छ । सोमबार १५२ जनाको पिसिआर परीक्षण भएकोमा २६ जनामा सङ्क्रमण देखिएको छ ।
बाँकेमा कोभिड सङ्क्रमण बढ्न थालेपनि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले सम्भावित तेश्रो लहरको कोभिडसँग सामना गर्नका लागि आवश्यक पूर्व तयारी सुरु गरेको जनाएको छ । बाँकेको भेरी अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि कोभिड वार्ड सञ्चालनमा छ । अन्य निजी अस्पताल र स्थानीय तहमा समेत कोभिड वार्डको व्यवस्थापन गरिएको छ ।
कोभिडबाट बाँकेका ३२२ जना र बाहिरी जिल्लाका ३७७ जना गरी ६९९ जनाको निधन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्