दार्चुलाका जनप्रतिनिधिले गृहमन्त्री खाणलाई भेटेर घटनाबारे ध्यानाकर्षण गराए

काठमाडौँ – दार्चुलाका जनप्रतिनिधि र विभिन्न पार्टी सम्मिलित प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् ।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ राप्लाको मालघाटमा तुइन तर्ने क्रममा शुक्रबार भएको घटनाबारे उनीहरूले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएका छन् ।

स्थानीय जयसिंह धामीको तुइन तर्दै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल एसएसबीले डोरी काटिदिएको भन्दै दार्चुलाका जनप्रतिनिधिले गृहमन्त्री खाणलाई भेटेर दोषीमाथि कारबाही र पीडित पक्षलाई राहतको व्यवस्था गरिदिन माग गरेका छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, कांग्रेस दार्चुला सभापति ललित सिंह बोहरा, शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामी, लगायत विभिन्न पार्टीका नेतालगायतले शनिबार गृहमन्त्री खाणलाई भेटेका थिए ।

‘घटनालाई गम्भीरताका साथ लिएर दोषीमाथि कारबाही गर्न÷गराउन र जयसिंह धामीका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन भारत सरकारसँग कुटनीतिक तहमा तत्काल पहल गर्न गृहमन्त्रीमार्फत् सरकारको ध्यानाकर्षण गरिएको छ,’ गृहमन्त्री खाणलाई भेटेपछि बडुले भने ।

सीमा क्षेत्रमा हुने अमानवीय घटनाले दुई देश बीचको सामाजिक, सांस्कृतिक र छिमेकीको सम्बन्धमा समेत चिसोपना ल्याउने गरेकोले यस्ता घटना अब हुन नदिन भारत सरकारसँग गम्भीरताका साथ कूटनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने उनीहरूको भनाइ छ । प्रतिनिधि मण्डलको टोलीलाई गृहमन्त्री खाणले यो घटनालाई सरकारले अत्यन्तै गम्भीरतापूर्वक लिएको बताएका थिए । घटनाबारे सत्यतथ्य छानबिन भइरहेको उनको भनाइ छ ।

‘घटनाबारे अध्ययन गरी सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरी काम भइरहेको छ,’ गृहमन्त्री खाणले भने । यस घटनाको सत्यतथ्य पत्ता लागेपछि पीडित पक्षलाई राहतलगायत व्यवस्था सरकारले मिलाउने पनि उनले बताए । साथै पुल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राख्ने पनि उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्