फाइभ–जीसहित अन्य नयाँ प्रविधिको परीक्षणका लागि बाटो खुला

काठमाडौँ – पाँचौँ पुस्ताको नवीनतम प्रविधि मानिने फाइभ–जीसहित अन्य नयाँ प्रविधिको परीक्षणका लागि बाटो खुला भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको हालै बसेको बोर्ड बैठकले ‘फाइभ–जीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गर्दै नयाँ प्रविधिका लागि बाटो खुला गरिदिएको हो ।
यससँगै फाइभ–जीसहित मेसिन टु मेसिन (एमटुएम), इन्टरनेट अफ थिङ्स (आईओटी)लगायत नयाँ प्रविधिको परीक्षण गर्न चाहने सेवा प्रदायकहरूले अनुमतिका लागि प्राधिकरणमा निवेदन दिन सक्नेछन् ।
कार्यविधिले नयाँ प्रविधि परीक्षणका प्रक्रिया स्पष्ट गरिदिएको छ । त्यसका लागि सबैभन्दा पहिला परीक्षणका लागि निवेदन पेस गर्नुपर्नेछ । निवेदनमा नयाँ प्रविधिको जानकारी, परीक्षण गरिने स्थानहरू, उपलब्ध गराइने सेवाहरू, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सीको विवरण र नेटवर्क जडान र सञ्चालनको समय तालिका उल्लेख गरेको हुनुपर्नेछ ।
परीक्षणको अवधि समाप्त भएपछि प्रयोग भएका उपकरणहरू फोर–जीलगायत सेवामा उपयोग गर्न सकिने भएमा प्राधिकरणबाट पुनः अनुमति लिएर प्रयोग गर्न सकिनेछ । प्रयोग नहुने अवस्थामा भने उपकरणहरू सम्बन्धित बिक्रेता (भेन्डर)लाई फिर्ता गरी प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ । त्यस्तै परीक्षणपछि विस्तृत प्रतिवेदन प्राधिकरणमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्