हेलम्बु ग्रेटट्रेलका निर्मातालाई काँग्रेसले दिएन क्रियाशील सदस्यता, कार्यकर्ता भन्छन् – ‘अध्यक्ष शेर्पा गाउँ तहमा लोकप्रिय नेता हुन्’

काठमाडौँ – नेपाली काँग्रेसले क्रियाशिल सदस्यबाट गाउँपालिका अध्यक्षलाई नै हटाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जने शेर्पालाई नेपाली काँग्रेसले क्रियाशील सदस्यबाट हटाएको हो । आईतबार उपहारखबरसँग संक्षिप्त कुराकानी गर्दै गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले क्रियाशील सदस्यबाटै आफ्नो नाम हटाएको जानकारी दिए । अध्यक्ष शेर्पाले भने, ‘एउटा देशभरीकै नमुना गाउँपालिका बनाउन हिडेको मान्छेलाई नेपाली काँग्रेसले क्रियाशील सदस्यता प्रदान गर्न सक्दैन भने देशभरीका काँग्रेसहरुले पार्टी प्रति कसरी विश्वास गर्ने ?, मलाई क्रियाशील सदस्य नै नदिनु भनेको त काँग्रेस हैन भन्न खोजेको हो पार्टीले । मैले काँग्रेसबाटै चुनाव जितेर नमुना गाउँपालिका बनाउने अभियान चलाए, पार्टीले मलाई अहिले चिन्दैन यो काँग्रेसप्रति आस्थावानहरुको लागि समेत दुखद कुरा हो ।’ । अध्यक्ष शेर्पा यस अघि २ पटक नेपाली काँग्रेसको महा समिति सदस्य र २०६४ सालमा नेपाली काँग्रेसबाटै संविधान सभा सदस्यका उम्मेदवार समेत भएका थिए ।
‘यदि म नेपाली काँग्रेस हैन भने २०७४ सालको स्थानीय चुनावमा मलाई किन पार्टीले टिकट दिएको ? अहिले आएर जनताको पक्षमा काम गर्दा पार्टीलाई टाउँको दुखाई भएर मेरो क्रियाशील सदस्यता नै हटाइदिने ?’ अध्यक्ष शेर्पाले आक्रोश पोखे ।

यता नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले अध्यक्ष शेर्पाले बीचमा पार्टी छोडेकाले कांग्रेसको सदस्यता नभएको कारणले क्रियाशील सदस्यता दिन नमिल्ने बताए ।

तर केन्द्रीय छानविन समितिमा उजुरी दिदा पनि पार्टीले वास्ता नगरेको अध्यक्ष शेर्पाको गुनासो छ । पार्टीले क्रियाशील सदस्यता नै नदिए म कुन पार्टीको हुँ भन्ने नैतिक प्रश्न उब्जिएको शेर्पा बताउँछन् । नेपाली काँग्रेसले एकचोटी उनको नाम क्रियाशील सदस्यताको सूचीमा राखेपनि पछि हटाएको पाइएको छ । हेलम्बु गाउँपालिकामा गत असारमा आएको बाढीले क्षति पुर्याएको अवस्थामा पार्टीले सहयोग गर्नुको साटो गाउँपालिका अध्यक्षको क्रियाशील सदस्यता नै खारेज गर्नुले मनोबल गिराउने काम भएको अध्यक्ष शेर्पाले बताए ।
यस विषयमा नेपाली काँग्रेस सिन्धुपाल्चोकका कार्यकर्तासँग बुझ्दा अध्यक्ष शेर्पाले क्रियाशील सदस्यता पाए सभापतिमा उठ्ने र बर्तमान सभापति हार्ने डरले क्रियाशील सदस्यता नदिएको बताउँछन् । नाम नबताउने सर्तमा एक जना कार्यकर्ताले भने, ‘गाउँ तहमा उहाँ (निमा ग्याल्जेन शेर्पा) निकै चर्चित अनुहार हो, यदि उहाँ काँग्रेसको चौधौँ महाधिवेशमा उम्मेदवार हुनुभयो भने जिल्ला सभापतिमा जित्ने सुनिशिचत छ ।’ अध्यक्ष शेर्पा अहिले कुनै प्यानलमा नरहेको तर सिन्धुपाल्चोकमा उनले जुन प्यानललाई सहयोग गर्यो त्यही प्यानल जित्ने सुनिशिचत भएको ती कार्यकर्ताले बताए । अध्यक्ष शेर्पा काँग्रेसमा मात्रै नभएर अरु पार्टीमा समेत लोकप्रिय नेता हुन् । तर यसबारे अध्यक्ष शेर्पाले सभापतिको उम्मेदवार हुने कुनै सोच नभएको बताए । उनले भने ‘क्रियाशील सदस्यता दिएको छैन, सभापतिमा लड्ने त अर्को चरणको कुरा हो ।’

अध्यक्ष शेर्पाले गाउँपालिकामा निर्वाचित भएपछि हेलम्बु सधै चर्चामा रहेको छ । चीन पछिको विश्वकै ठूलो हेलम्बु ग्रेटट्रेल निर्माणको काम हुदैछ । ६० किलोमिटर लामो यो ट्रेल पर्यटन आकर्षणको केन्द्रबिन्दु हो । उनले गाउँपालिकामा अहिले सम्म ल्याएका ४ वटा नीति, कार्यक्रम तथा बजेट सबै लोकप्रिय छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्