कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

File Photo

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दैछ । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज शनिबार शीर्षनेतासहित पदाधिकारी बैठक बस्न लागेको हो । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताए । शुक्रबारदेखि जारी बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे नेताहरुबीच छलफल भएपनि ठोस मिति भने तय भइसकेको छैन । कार्यतालिका अनुसार १२ साउनमा वडा अधिवेशन हुनुपर्नेमा अहिलेसम्म क्रियाशील सदस्यता टुंगिएको छैन ।

महाधिवेशन कार्यतालिका प्रभावित हुने निश्चित भएपछि शीर्ष नेतासहितको पदाधिकारी बैठकले नयाँ मिति तय गर्ने बताइएको छ । सभापति देउवाले भदौ १६–१९ सम्मको केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी स्थानीय तहको कार्यतालिका फेरबदल गर्न निर्देशन दिएका थिए ।

कांग्रेसलाई भदौभित्र महाधिवेशन गर्नै पर्ने कानूनी बाध्यता छ । विधानत चार वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि कांग्रेसले थप एक वर्ष कार्यकाल थपेको थियो । पाँच वर्षमा केन्द्रीय प्रदेश तहका पदाधिकारीको निर्वाचन गर्नैपर्ने कानूनी व्यवस्था छ । तर कुनै कारणले पाँच वर्षमा निर्वाचन गर्न सम्भव नभए राजनीतिक दलसम्बन्धी ऐनले थप ६ महीनाको सुविधा दिएको हो । कांग्रेसले कानूनले दिएको ६ महिनाको सुविधा प्रयोग गर्दै भदौमा महाधिवेशनको मिति तय गरेको हो । तर पार्टीभित्र क्रियाशील सदस्यताको विषय पेचिलो बन्दै जाँदा महाधिवेशन कार्यतालिका प्रभावित भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्