कक्षा १२ का विद्यार्थीहरुको डर : परीक्षाको नतिजा नेगेटिभ र कोरोना रिपोर्ट पोजिटिभ आउने त हैन​ ?

पछिल्लो समयमा सामाजिक सञ्जालमा अहिले चर्चामा रहेको विषय कक्षाको १२ को विषयमा अनेक समाचार आइरहँदा म लगायत लाखौं विद्यार्थीहरुमा एउटा डर-त्रास पैदा भएको छ । सामजिक सञ्जालमा कक्षा १२ को परीक्षा साउन अन्तिममा गर्ने भनेर समाचार आइरहेको छ । कोरोना महामारीका कारण कक्षा १२ को पढाई भौतिक रूपमा नभई अनलाइन मार्फत सुरु भयो र अनलाइन मै गएर अन्त्य भयो, अनलाइन कक्षाहरुमा पनि सबै विद्यार्थीहरूको पहुँच भएन, पहुँच भएका विद्यार्थीहरुको पनि अनलाइन मार्फत पढाई प्रभावकारी देखिएन त्यसको जिउँदो उदाहरण म स्वयं हुँ ।

लामो समयको लकडाउनले विद्यार्थीहरू को रुचि पढाइमा नभई अन्यत्र​ गयो त्यो स्वभाविक​ पनि हो, दिन भर मोबाइलमा पढ्ने बानीले मोबाइलप्रति एक मोह बनाइदियो । लगातार बढेको कोरोना र लकोडाउनका कारण विद्यार्थीहरुको मनमा डर, त्रास उत्पन्न भयो । एकातर्फ​ बढ्दो कोरोना र अर्कोतर्फ परीक्षाको डरले विद्यार्थीहरुको मानसिक अवस्थामा पनि नकारात्मक असर देखा परेको छ । राष्ट्रिय परीक्षा बोर्ड को लापरवाहीका कारण लाखौं विद्यार्थीहरू मारमा परेका छन् । ढिलो निर्णय र छिटो परीक्षा गराउनु आफैमा आश्चर्यजनक​ छ ।

आजको दिनसम्म पर्ख र हेरको अवस्थामा रहेको राष्ट्रिय परीक्षा बोर्डको एक्कासीको यस्तो निर्णय विद्यार्थीहरुको हितमा देखिँदैन । अहिलेको अवस्थामा विद्यार्थीमा कोरोना भन्दा पनि परीक्षाको डर उत्पन्न भएको छ। लामो समयको बिदा पछि विद्यार्थीहरुलाई एक्कासी त्यत्रो कोर्स पूरा गर्न पनि त्यति सजिलो छैन, त्यहीमाथि कोरोनाको डर । नेपाल सरकारले परिक्षा हलमा २५ जना त भन्यो तर परीक्षा केन्द्र सम्म पुग्न चाहिने सवारी साधनमा भीडभाड नियन्त्रण कसले गर्ने भन्ने कुरा मा पनि ध्यान दिनु पर्ने देखिन्छ । त्यसबाट हुने संक्रमणलाई रोकन उचित व्यवस्था मिलाउन जरुरी देखिन्छ । यस्तो अवस्थामा सरकारले विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन पनि त्यति ध्यान दिएको देखिन्न । यदि यस्तै अवस्थामा बिना ठोस निर्णय र नियम बिना परीक्षा गर्ने हो भने विद्यार्थीहरुको परीक्षाको नतिजा नेगेटिभ र कोरोना रिपोर्ट पोजिटिभ देखिने निश्चित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्