वडा अधिवेशन १० दिन पर धकेल्ने काँग्रेसको तयारी

File Photo

काठमाडौँ – नेपाली कांग्रेसले वडा अधिवेशन दश दिन पर धकेल्ने तयारी गरेको छ ।

पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ भएको र बारा तथा सप्तरीलगायत केही जिल्लामा नयाँ क्रियाशील हालका लागि स्थगित गरिएपछि केही दिन वडा अधिवेशन सार्न लागिएको छ ।

कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ गते देशैभरका वडा अधिवेशन हुनुपर्ने हो ।

तर सोमबारसम्म क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक भइसकेको छैन । छानबिन समितिले केन्द्रीय समिति र सभापति देउवालाई क्रियाशीलको सूची बुझाएपछि अध्ययनपछि सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई नामावली बुझाउँछन् । ‘क्रियाशीलको सूची खामबन्दी गरेर जिल्ला हुँदै वडामा पठाउन समय लाग्छ । दश दिनजति वडा अधिवेशन सर्छ,’ एक नेताले भने ।

केन्द्रीय निर्वाचन समितिले नामावली पाएपछि सबै जिल्लाहरूमा पठाइन्छ । त्यसपछि मात्रै वडा अधिवेशनको तयारी पुग्छ । वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य भएकोले पहिले क्रियाशीलको टुंगो लगाउनुपर्ने हुन्छ ।

विवाद देखिएका जिल्लाका विवरण छानबिन समितिले केन्द्रीय समितिमै फर्काइदिएको छ । ती विवरण के गर्ने भन्नेबारे पदाधिकारी वा केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने हुन्छ । विवाद भएका ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गर्ने विकल्पबारे पनि कांग्रेसभित्र छलफल भइरहेको छ ।

छानबिन समितिका सदस्य प्रदीप पौडेका अनुसार करिब एक सय २५ वडामा क्रियाशीलबारे विवाद टुंगिन बाँकी छ । समितिले छानिबन गरी टुंग्याएका क्रियाशीलको विवरण भने छिट्टै सभापति देउवालाई बुझाइने उनी बताउँछन् ।

कांग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य छन् । कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्