मालिकार्जुनका उपाध्यक्ष अवस्थीको आरोप– अध्यक्ष धामीको मिलेमतोमा असारमा जथाभावी भुक्तानी

काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थीले असार मसान्त नजिकिएसँगै गाउँपालिकामा जथाभावी भुक्तानी भएको बताएकी छिन् ।
उपहारखबर सँगको संक्षिप्त कुराकानीमा उपाध्यक्ष अवस्थीले सो कुरा बताएकी हुन् । जथाभावी भुक्तानी गराउनमा पालिका अध्यक्ष नरेन्द्र सिंह धामीको संलग्नता रहेको उनको आरोप छ । कार्यपालिकाको निर्णय विपरित भुक्तानी गराएर अध्यक्ष धामीले राज्यको पैसाको दुरुपयोग गरेको उनले आरोप लगाईन् । उनले भनिन्, ‘कार्यपालिकाको निर्णय विना नै भुक्तानी गराउने काममा अध्यक्ष स्वयं संलग्न हुनुभएको छ, जनताको काम भन्दा पनि आफु निकटका नेता तथा कार्यहरुको काममा अध्यक्षले जोड दिनुभएको छ, आफु निकटका व्यक्तिहरुलाई अन्धाधुन्ध भुक्तानी गर्नुभएको छ ।’ एक फरक प्रसंगमा उनले अध्यक्षकै संलग्नतामा गाउँपालिकामा भ्रष्टाचार मौलाएको बताईन् । ‘पारिवारिक काम विशेषले म जिल्ला बाहिर छु, तर मेरो अनुपस्थितिले पालिकामा कुनै पनि काम रोकिएको छैन,’ उपाध्यक्ष अवस्थीले भनिन् । आर्थिक वर्ष २०७८/७९ को बजेटमा समेत आफ्नो असहमति भएको उनको भनाई छ । बजेटमा असहमति किन भन्ने उपहारखबरकर्मीको प्रश्नमा उनले संक्षिप्त जवाफ दिदै भनिन् ‘अध्यक्षको कार्यकर्तामुखी बजेटमा मेरो सहमति हुदैन, जनताको प्रतिनिधि भएपछि कामहरु पनि जनतामुखी हुनुपर्छ ।’ उनले अध्यक्ष धामीलाई दलालको संज्ञा समेत दिएकी छिन् । उपहारखबरले यस विषयमा गाउँपालिका अध्यक्ष धामीसँग थप बुझ्नका लागि निरन्तर सम्पर्क गरे पनि उनको फोन उठेन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्