CORONA

एक यात्राको सम्झना

रोकिएको बस भित्र यात्रालाई निरन्तर अगाडि बढाउने आशामा बसेको पनि धेरै बेर भैसकेको थियो । म सङ्गै आएका अन्य यात्रुहरु भने यता उता लागिसकेका थिए । नजिकै हातमा घडी बाँधेको ब्यक्ति देखिएपछि मैले सोधे “कति बज्यो होला ?” अनि उनले बायाँ हत्केलामा हेरेर भने “पौने सात हुन लाग्यो”। मेरो मन झसङ्ग भयो किनभने म बिच बाटो बाटोमा अलपत्र हुन लागेको यात्री थिएँ अनि ध्यान कन्डक्टर तिर र आँखा चालक तिर केन्द्रित भयो र मनमनै सोचेँ अब अगाडि नजाने भए बाकी पैसा फिर्ता लिन पर्यो । तर मेरा नजर चालकको खाली सिट र स्टेरिङ्गमा ठोकियो । अनि बसभित्र कन्डक्टर नदेखेपछि बाहिर निस्किए र चालक सित भाडाको लागि तिरेको बाकी पैसा फिर्ता माग्ने कोशिस गरे। तर पैसा उठाएको कन्डक्टर बाटो बन्द भन्ने थाहा पाए पश्चात र घर पनि नजिकै रहेकोले चिनजानको मोटरसाइकल बोलाएर घर गइसकेको जवाफ बस चालक बाट पाए । तर सङ्गै रहेका केही यात्रुहरुले कराइरहेका थिए “पैसा फिर्ता दिनुपर्छ भनेर कण्डक्टर लुकेको हुनुपर्छ” ।

करिब साढे सात बजिसकेको थियो । बस पनि पार्किङको लागि बसपार्क तर्फ मोडियो र त्यहाँ रहेका बाँकी यात्रुलाई चालकले आफ्नो व्यवस्था आफै गर्न अनुरोध गर्यो । मेरो मनमा झन चिसो पस्यो । न त मेरो खल्तीमा अरु पैसा थियो,  न त त्यस ईलाकामा मेरो चिनजानको कोहि नै थियो । मनभरि अनेक कुराहरु खेलीरहेका थिए । यात्रामा म यसरी एक्लै अलपत्र परेको अनुभव म सँग  थिएन । बाँकी रहेका अन्य यात्रुहरु आफ्नो रात विताउनका लागि र खानाको लागी होटलको जोहो गर्न लागे । तर मेरो साथमा खर्च गर्नका लागि एक पैसा थिएन त्यसकारण एकैछिन त्यही स्थानमा उभिए अनि केही समय पछि पछाडितर्फ मोडिए र बजारतिर जाने निधो गरे । हिँड्दै जाने क्रममा बजारको छेउमा एउटा यात्रु प्रतिक्षालयमा पुगे र एकछिन बसे अनि आजको रात त्यही एक्लै बिताउने निधो गरेँ ।

वास्तवमै म एउटा अलपत्र र बेसाहारा यात्री थिए । खल्तीमा अड्कलेर हिडेको भाडा बाहेक एक पैसा साथमा थिएन । अरूहरूको जस्तो ए.टी.एम. र चेकबुक कल्पनाभन्दा बाहिरको कुरा थियो न त कसैलाई सम्पर्क गर्नको लागि मेरो हातमा मोबाइल नै थियो । त्यसकारण खाली पेटमा म बसिरहेको थिए चौतर्फी लामखुट्टेको साथमा । बिस्तारै हातमा सानो झोला बोकेको दुब्लो-पातलो मेरै उमेर जस्तो देखिने एउटा युवक म भएतिर आउँदै थियो । मनमनै मैले सोचे सायद यही प्रतिक्षालयमा पहिलेदेखिनै रात बिताउँदै आइरहेको पागल व्यक्ति कोही हुनुपर्छ । हामी एक अर्कामा अपरिचित थियौ त्यसकारण न त मैले उसलाई बोलाएँ न त उसलेनै मलाई बोलाउने कोसिस गर्‍यो । केही समय पछि म आफै भन्न थाले “पिउने पानी कता भेटिएला ?” तर उसले दयाका साथ धारा देखाएर मलाई सहयोग गर्यो र पानी पिउन संगै धारामा गएर फर्कियौं ।

त्यसपश्चात हामी एक-अर्कामा परिचय गर्न थाल्यौ । उनी पनि म जस्तै अचानक गाडी बन्द भएर अलपत्र परेका यात्रु रहेछन् । खाना खाएर बस्ने सस्तो होटलको खोजमा हिडेका रहेछन । सिमित पैसाका बाबजुद भोलि पल्ट कार्यालयमा हाजिर हुनैपर्ने उनको बाध्यता रहेछ। अनि उत्सुकताका साथ घरमा आमाले आफ्नो सन्तानलाई सोधे जस्तै मेरो खानाको बारेमा प्रश्न गरे “हजुर खाना खानुभयो ?” म एकछिन अक्क न बक्क भएको देखेर फेरी प्रश्न तेर्स्याए “हैन हजुरलाई आराम छैन कि साथमा खर्च छैन ? यदि खर्च छैन भने म सहयोग गरुला “। मेरो भन्दा उसको समस्या ठुलो लाग्यो । किनभने भोलिपल्ट कार्यलयमा अनिवार्य उपस्थित हुनुपर्ने र पर्याप्त पैसाको अभावमा पैसा केहि मात्रामा बचाउनको लागि भएपनि सस्तो होटलको खोजीमा हिँडेको ब्यक्ति उ । त्यसकारण उसले मलाई एक छाक खानाको लागि सहयोग गर्न तत्पर देखे पनि मैंले त्यो सहयोग स्विकार गरेन किनभने आज पैसाको अभावमा मेरो मात्र समस्या छ तर मैले सहयोग स्विकार गरे भोलिपल्ट उसको पनि अर्को समस्या बन्नेछ र जसले कारण म हुनेछु । त्यसैले मैले जवाफ दिए ” हैन पहिल्यै उ त्यो साइडको होटलमा खाना खाएर यहाँ आएर बसेको “। अनि खाना भोकै भए पनि मलाई अपरिचित व्यक्तिले सहयोग गर्न तत्पर भएको देख्दा मेरो जिवनमा ईश्वरीय उपस्थित भएको जस्तो लाग्यो र भोक एकै छिन भए भनि हराएको जस्तो लाग्यो ।

केही समयको कुराकानी पछि हामी त्यही यात्रु प्रतिक्षालयमा रात बिताउने निर्णय गर्यौ र त्यहि सुतियो । रातिमा पटक-पटक निन्द्रा खुलीरहन्थो । आकाशमा दशौ हजार ताराहरू जोडदार चम्किरहेका थिए तर पनि एउटा चन्द्रमाको टहटह उज्यालोले रातलाई जितेर नै होला रात चम्काइरहेको थियो । चराको चिरबिर-चिरबिर आवाज संगै बिहानको बढ्दै गरेको उज्यालो पछि आखाँ बन्द हुन छाड्यो र मैले बेलुका संगै सुतेको व्यक्तिलाई नियाल्ने कोशिस गरे । उनी पनि छट्पटिएका देखिन्थ्यो । सायद लामखुट्टेको टोकाईले हुन सक्छ घरि टाउको/घरि खुट्टा कनाएको देखे । अनि मैले लामो श्वा​स तानेको बाहाना बनाए अनि उनले भने “हजुर ब्युझिसक्नु भयो ?”

सायद दूध बेच्न किसानहरु हुनुपर्छ साइकलमा ओहोरदोहोर गरेको देखिरहेको थिए । त्यसपछि मैले जवाफ दिए “हजुर अबत उठेर हातमुख पनि धुन पर्छ होला । मानिसहरू पनि हिडडुल गर्न लागिसके ।” त्यसपछि हामी सुतेको यात्रु प्रतिक्षालय बाट उठेर हातमुख धोएर केहिबेर समय बिताउनको लागि यताउता मर्णिङ्ग वाक गर्यौ । बिहान छर्लङ्ग उज्यालो भइसकेको थियो । बाटोमा हलुका सवारी साधन पनि चल्न थालेका थिए भने कतै-कतै आज पनि बन्द भन्ने हल्ला सुनिन्थ्यो । हामी एउटा सानो खाजा पसल नजिकै थियौं । उनको अनुरोधमा एक कप चिया पियौ। त्यसपश्चात हामी हाम्रो आ-आफ्नो गन्तव्यमा जाने निर्णय गर्यौ । मेरो साथमा कुनै रकम नभएको कुरा उनले बुझिसकेका थिए । त्यसकारण मलाई मेरो गन्तव्यसम्म पुग्न को लागि तिन सय गाडी भाडा मेरो हातमा थमाइदिए । मनमनै मैले उनलाई कहिल्यै भुल्न नसक्ने एक आदर्श र सहयोगी व्यक्तिको रुपमा लिइसकेको थिए । मैले उनको सम्पर्क नम्बर लेखेर दिन अनुरोध गरे । उनले मलाई लेखेर दिएको सम्पर्क नम्बर सुरक्षित साथ खल्तीमा राखे र मलाई गाडी भाडा वापत दिएको रकम मैले पछि फिर्ता दिने वचनबद्धता साथ हामी एक अर्कामा बिदा भयौं।

उनले लेखेर मलाई दिएको उनको सम्पर्क नम्बर आज पनि म सित सुरक्षित छ तर अफसोच आजसम्म त्यो नम्बरमा सम्पर्क हुन सकेको छैन अनि आजकल धेरै पटक सामाजिक संजालमा उनको नाम खोजी गर्दा समेत भेटाउन सक्दैन ।  म पछि-पछि पनि त्यो बाटोमा ओहोर दोहोर गर्दा उनि देखिन्छन् कि भनेर हामीले रात बिताएको त्यो यात्रु प्रतिक्षालयमा अनि पानी पिएको र हात मुख धएको धारामा र भोली पल्ट बिहान चिया पिएको चिया पसलमा बाराम्वार नियाल्ने गर्दछु । तर अफसोच मेरो दुर्भाग्य नै मान्नुपर्छ उहाँसँग मैलै पुनः सम्बन्ध स्थापित गर्न र उहाँले त्यो रात र मेरो गन्तव्य सम्म पुग्न दिएको साथ र सहयोगको सक्दो फिर्ता गर्ने मेरो प्रयास उहाँ सम्पर्कमा नआउदा सम्म म अव आजिवन ऋणी भइरहनै रहने छु ।

लेखक​ :- बलराम देवकोटा

सम्पर्कः- नं.9845710863

ठेगानाः- गौरीगंगा न.पा.९ कैलाली/ हाल :- नारायणगढ चितवन

ईमेलः- balramdevs1@gmail.com

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्