जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेमा कोरोना पुष्टि भएन

FILE PHOTO

दैलेख – जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा कोभिड–१९ सङ्क्रमण भेटिएन । सुर्खेतको गुर्भाकोट नगरपालिका–११आपसोती जनैघाट जङगलको भेरी नदी किनारमा बसोबास गर्दै आएका ती समुदायको एन्टिजेनबाट स्वाव सङ्कलन गरिएको थियो ।

सङ्कलित स्वावको रिपोर्ट नेगेटिभ आएसँगै सो समुदायमा कोरोना पुष्टि नभएको हो । परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली राउटेका बस्तिमै पुगेर स्वाव सङ्कलन गरिएको थियो । परीक्षण गराएकामा कसैको पनि कोरोना पुष्टि भएन ।”
उहाँले कति जनाको स्वाव सङ्कलन गरिएको थियो भन्ने जानकारी दिनुभएन ।

राउटे महिलाले करोना परीक्षण ‘आफ्नो धर्म विरुद्ध हुने ’जनाउँदै स्वाव सङ्कलन गर्न अस्वीकार गरेका बताइएको छ । स्वाव सङ्कलन गर्नु अगाडि राउटेका मुखिया सूर्यनारायण शाहीले आफ्नो जनतामा कोरोना नलागेकोे जनाउँदै परीक्षण नगर्न आग्रह गर्दै आउनु भएको थियो । “मेरो जनतासँग कोरोना छैन । सरसफाइ गरेकै छौं । किन स्वाव लिनु प¥यो ? जनता डराउँछ । कहिल्यै पनि तपार्इँको जस्तो उपचार गरेको छैन । बरु हाम्रो समुदायमा गैर राउटेलाई आउन नदिन प्रहरी पठाइ दिनुहोला । ”उहाँले भन्नुभयो । केहीदिन अगाडि राउटे युवक शिवराज शाहीको मृत्यु भएको थियो ।

आफ्नो समुदायमा सक्रिय शाहीको मृत्युपछि कोरोना आशंकामा स्वाव सङ्कलन गरिएको सहयोगी संस्था सोसेकले जनाएको छ । अहिले पनि ती समुदायलाई खाद्यान्नको जोहो गर्न विभिन्न गाउँ बजार डुलिरहनु पर्ने बाध्यता छ । कोरोनाको आशंकामा राउटे समुदायको परीक्षण गरिएको सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिनुभयो । गुराँस गाउँपालिकाले राउटे नागरिकलाई स्थायी बासिन्दाको प्रमाणपत्र दिइसकेको । प्रदेश सामाजिक विकास मन्त्रालय, गुर्भाकोट नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदायमा कोरोना परीक्षण गराएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्