नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन् ।

देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ९३ मतमात्रै आएको थियो । विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । ओलीलाई बहुमत पु¥याउन १३६ सांसद चाहिन्थ्यो। १२१ सांसद भएको नेकपा एमालेका सबै सांसदले ओलीलाई मत दिएनन् । नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसद प्रतिनिधि सभा बैठकमै अनुपस्थित थिए ।

ओलीको विपक्षमा १२४ मत आएको थियो भने जसपाको महन्थ ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए ।

ओलीले विश्वासको मत गुमाएलगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्