CORONA

प्रधानमन्त्री ओलीको वक्तव्य – ‘नेपाल समूहले गरिरहेका क्रियाकलाप अपराध कर्म’

काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले गरिरहेका क्रियाकलापलाई अपराध कर्म भनेका छन् ।

संसदमा विश्वासको मत लिनु अघिल्लो दिन आइतबार प्रेस वक्तव्य जारी गर्दै ओलीले नेपाल समूहले जसरी पनि पार्टीको सरकारलाई ढाल्न खोजेको बताएका छन् ।

ओलीले लिन लागेको विश्वासको मत असफल पार्न नेपाल समूहका केही सांसदले राजीनामा दिने तयारी थालेका बेला ओलीले आक्रोशपूर्ण वक्तव्य निकालेका हुन् । उनले नेपाल समूहका गतिविधिलाई इतिहासले माफी गर्ला भनेर प्रश्नसमेत सोधेका छन् ।

यस्तो छ ओलीको वक्तव्यः

राणा शासनको अन्धकार युगमा सुन्दर भविश्य र संकल्पका साथ स्थापित, संगिठत र सक्रिय भई अघि बढेको वामपन्थी आन्दोलन धेरै शहीदको बलिदान, धेरै अग्रजका मार्गदर्शन र योगदानबाट आज यस ठाउँमा आइपुगेको छ। राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ। जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी– नेकपा (एमाले)लाई अझ सुदृढ र एकतावद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमूख दायित्व आजको पुस्ताको हो।

कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्या छन्। यस आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन। आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्। कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरू पनि आज देखा परेका छन्। यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन्।

के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु। यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो। यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पु¥याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु।

भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन। म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु।

धन्यवाद

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्