सामूहिक राजीनामा दिने नेपाल–खनाल पक्षका सांसदको तयारी

काठमाण्डौ – नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकोले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका सांसदहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सोमबार संसदबाट विश्वासको मत लिने सम्भावना छ, त्यसअघि नै सकभर सबै, नभए ओलीलाई विश्वासको मत नपुग्ने र अरु दलको सरकार बनाउन सांसद संख्या पुग्नेगरी राजीनामा दिने एक नेताले बताएका छन् ।

सर्वोच्चको फैसला अनुसार ओलीले पार्टी चलाउने सम्भावना निकै कम रहेकाले आफूहरु योजनाबाट पछि हट्ने सम्भावना पनि नदेखिएको नेताहरुको भनाइ छ ।

ओलीले कारबाही फिर्ता र पार्टीलाई पहिलेकै अवस्थामा फर्काउन अस्वीकार गर्दै आउनुभएको छ । माधव नेपाल समूहका सांसदले राजीनामा दिएमा सजिलै अर्को सरकार बन्ने सम्भावना देखिएको छ । अहिले प्रतिनिधिसभामा २ सय ६७ सांसद संख्या कायम छ । तीमध्ये नेपाल–खनाल समूहका २० जनाले मात्रै राजीनामा दिएमा पनि २ सय ४७ सदस्य कायम रहनेछ । त्यसपछि सरकार बन्न एक सय २४ जना सांसद भएपनि पुग्छ ।

नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ गरेर १ सय ९ सांसद छन् । जसपाका पनि धेरैजसो सांसदले कांग्रेस–माओवादीलाई साथ दिने भएकाले नयाँ सरकार बन्ने सम्भावना बलियो भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्