दाङका दुई जनासहित बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – दाङका दुई जनासहित बाँकेमा थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

दाङको दंगिशरण गाउँपालिका वडा नं. १ का ६० वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ४५ वर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो ।

दंगिशरणका पुरुषको शनिबार बिहान ४ बजे र तुलसीपुरका पुरुषको शुक्रबार बेलुका ५ बजेतिर नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

तुलसीपुरका पुरुषको पिसिआर रिपोर्ट आएकै दिन मृत्यु भएको थियो भने दंगिशरणका पुरुषको वैशाख ११ गते परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ की ४७ बर्षीया महिलाको शुक्रबार राति साढे ९ बजेतिर कोहलपुरमा मृत्यु भएको छ । उनको वैशाख १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । बाँकेमा कपिलवस्तुको कृष्णनगरनगरपालिका वडा नं. ५ का ५१ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ ।

नेपालगञ्ज नर्सिंङ होममा वैशाख १५ गते भर्ना भएका उनको १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनको मृत्यु राति १० बजेतिर भएको फोकल पर्सन वलीले बताए ।

त्यस्तै, नेपालगञ्ज १० की ५५ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । उनलाई वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेकै कोहलपुर नगरपालिका वडा नं. ११ का ३५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

बैशाख ११ गते पिसिआर परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको थियो । उनको मृत्यु बिहीबार राति साढे १२ बजे भएको फोकल पर्सन वलीले जानकारी दिए ।

यो सँगै बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ भने बाँकेमा उपचारका लागि लगिएका बाहिरी जिल्लाका संक्रमितमध्ये ११७ जनाको मृत्यु भएको फोकल पर्सन वलीले बताए ।

बाँकेमा हालसम्म कोरोना संक्रमित २३५ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्