भारत बन्यो कोरोनाको नयाँ हटस्पट, २४ घण्टामै १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि

काठमाडौँ – छिमेकी मुलुक भारत कोरोनाभाइरसको संक्रमणमा संसारकै नयाँ हटस्पट बनेको छ । त्यहाँ संक्रमितको संख्यामा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ ।

बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ । गत वर्ष कोरोनाभाइरसको पहिलो लहर चल्दा पनि भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएका थिएनन् ।

पछिल्लो एक महिनादेखि भारतमा संक्रमणको दर उकालो लागेको हो । गत मार्च ७ मा भारतभरि जम्मा १८ हजार ५ सय ९९ जनामा संक्रमण देखिएको थियो ।

अघिल्लो साता भारतले दैनिक संक्रमणमा ब्राजिल र अमेरिकालाई पछि पारेको थियो । बुधबार ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार मानिसमा कोरोना संक्रमण भएको छ । संक्रमण तीव्र भएसँगै भारतमा सक्रिय संक्रमितको संख्या पनि बढेको छ । मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ । बुधबारमात्रै त्यहाँ ६ सय ८५ जना संक्रमितको मृत्यु भएको छ । यो गत नोभेम्बर ४ यताकै सबैभन्दा धेरै हो ।

भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्