नयाँ सरकार बनाउन देउवाभन्दा पौडेल सक्रिय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो । कांग्रेसको २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो ।

सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्याका विषयमा सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेस अलमलमा छ । यसैकारण सभापति शेरबहादुर देउवाले अझै प्रस्ट रूपमा मुख खोलिसकेका छैनन् । तर, देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार सरकार गठनका विषयमा अनौपचारिक संवाद भने भएको थियो ।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सरकार गठनका लागि संसदमा रहेका दलहरूसँगको छलफलमा सक्रियताका साथ जुटिरहेका छन् । उनले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवास भैंसेपाटी पुगेर भेट गरेका हुन् । सो भेटमा पौडेलले नयाँ सरकारका लागि कांग्रेसलाई सहयोग गर्न नेता ठाकुरसँग आग्रह गरे ।

पौडेलले सो भेटमा जसपाका मागबारे सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद गरेर संयुक्त रूपमा समाधान खोज्दै अघि बढ्नसमेत नेता ठाकुरलाई प्रस्ताव गरेका छन् । पौडेलको सो प्रस्तावपछि जवाफमा ठाकुरले भने आफ्नो दलले राखेका माग सम्बोधन गर्ने समूहलाई नै साथ दिने जवाफ दिएका थिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा सरकार गठन गर्न कांग्रेसलाई अंकगणितमा जसपाको साथ आवश्यक पर्छ । त्यसका लागि पहिले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको प्रक्रियामा अघि बढ्नुपर्ने र त्यसपछि प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने वातावरण भने बन्नैपर्छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्