आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न प्रचण्ड–नेपाल समूहको निर्देशन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ।

सो समूहको संसदीय दलको बुधबारको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराएका हुन् ।

उपलब्ध सांसदहरुको बैठकमा अध्यक्षद्वयले जतिबेला जे पनि हुनसक्छ, त्यसैले उपत्यकामा रहेका सांसदहरुलाई अतिआवश्यक बाहेक जानकारी गराएर मात्र बाहिर जानु भनेर निर्देशन दिएको नेता रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउँदै संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई उनीहरूले धन्यवाद दिएका थिए ।

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघट्न गर्ने निर्णय गरेको थियो । सो विषयका सम्बन्धमा परेको विभिन्न रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले मङ्गलबार सरकारको उक्त कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्