कोरोनाकालमा गाउँपालिकाका जनप्रतिनिधिले गरे ७९ वटा शीर्षकमा बजेट दुरुपयोग

काठमाडौं – बाराको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर कोरोनाकालमा ७९ वटा शीर्षकमा बजेट दुरुपयोग गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छानबिन प्रतिवेदनले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायत पदाधिकारी र कर्मचारीले भ्रमण प्रतिवेदन नबनाई भ्रमण भत्ता बुझेको देखाएको छ । उनीहरूले आफ्नै गाउँपालिका र जिल्ला जाँदा पनि दैनिक भत्ता लिने गरेको छानबिनमा भेटिएको छ ।

गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष बबिता यादव, प्रमुख प्रशासकीय अधिकृत (साविक प्रमुख कार्यकारी अधिकृत) नवीनकुमार श्रीवास्तवसहित वडाध्यक्षले मिलीजुली बजेट हिनामिना गरेको प्रतिवेदनमा औंल्याइएको छ । उनीहरूले लाखौं रकम निकासा लिई गाडी सुविधासमेत लिएका छन् । गाउँपालिकाभन्दा १० किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम कलैयामा आवास सुविधा लिएको भेटिएको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र लेखापाल प्रिन्सकुमार साहलाई गाउँपालिकाको निर्णयबिनै सदरमुकाममै घर र कोठा भाडामा लिएर राखिएको छानबिनमा देखिएको छ ।

०७६÷७७ को गाउँसभा सञ्चालन गर्न विशेष निर्णयको ४ नम्बरमा गाउँपालिकाको कार्यालय प्रयोजनका लागि १ थान चारपांग्रे सवारी साधन लिने निर्णय गरेको देखिए पनि प्रमुख कार्यकारी अधिकृतलाई गाडी सुविधा दिने निर्णय भएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष यादवले भ्रमण प्रतिवेदन नबनाई १० हजार ६ सय, प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले ४५ हजार भ्रमण भत्ता लिएको प्रतिवेदनमा देखिएको छ । श्रीवास्तवले त मेला व्यवस्थापनका नाममा पनि भत्ता बुझेका छन् । वडाध्यक्ष रञ्जितप्रसाद यादवले काठमाडौं आएको भन्दै २६ हजार ५, चितवन आएको भन्दै ९ हजार भ्रमण भत्ता बुझेको जनाइएको छ । अर्का वडाध्यक्ष राम एकवाल साहले १० हजार, महेन्द्र राउतले ९ हजार ७ सय, विजयकुमार सिंहले १४ हजार, शिवधारीदास तत्माले १० हजार १ सय, दोलेन्द्रप्रसाद यादवले ४ हजार, रोजगार संयोजक सुदीप मण्डलले १० हजार ७ सय भ्रमण भत्ता लिएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्