थप १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो

काठमाडौं – सरकारले थप १० लाख डोज ‘कोभिशिल्ड’ खोप ल्याएको छ ।

आइतबार एयर इन्डियाको विमानबाटमार्फत नेपाल सरकारले भारतसँग खरिद गरेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगको हो ।

नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो । सरकारले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो । जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको हो ।

उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ । स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल ल्याइने बताएको छ ।

फागुन २३ गतेदेखि सरकारले सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्