भारत र चीनका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप, २४ सैनिक घाइते

काठमाडौँ – भारत र चीनका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो ।

झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको सैन्य स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ । चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

अहिले झडप भएको स्थानमा अवस्था तनावपूर्ण भए पनि स्थिर रहेको छ । यसअघि गत असारमा भारत–चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो ।

नाकु लामा झडप भएकोबारे चिनियाँ पक्षले भने कुनै जानकारी दिएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्