बागमती अङ्क बाँड्दै सेमीफाइनल पुग्यो, लुम्बिनीले पुलिस र प्रदेश २ को खेल कुर्नुपर्ने

काठमाडौं – अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धामा बागमतीले लुम्बिनिसँग बराबरी खेल्दै अङ्क बाँडेर प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । बागमतीले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याउँदै लुम्बिनि ४८ ओभरमा सबै विकेट गुमाएर २२० रनमा रोकिन पुग्यो ।
बागमती र लुम्बिनिबीचको खेल ‘टाइ’ भएपछि समूह बी बाट बागमती सेमीफाइनलको लागि स्थान सुनिश्चित गरेको छ । उसले चार खेलमध्ये तीनमा जित हात पार्दै सात अङ्क बटुलेको छ । लुम्बिनिको चारमध्ये दुईमा जित र बागमतीसँग अङ्क बाँड्दा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल पुलिसले आफ्नो अन्तिम खेल खेल्न बाँकी नै छ । पुलिसले तीन खेलमध्ये दुईमा जित हात पारेर चार अङ्कसहित तेस्रो स्थानमा छ । आफ्नो अन्तिम खेलमा प्रदेश २ लाई हराए नेपाल पुलिस समूह बी बाट बागमतीसँगै सेमीफाइनल पुग्नेछ । हार बेहोरे नेपाल पुलिसलाई उछिन्दै लुम्बिनिले सेमीफाइनलमा स्थान सुनिश्चित गर्नेछ ।
२१६ रनमा मात्र सात विकेट गुमाएको लुम्बिनिले २२ बलमा छ रन ल्याउन आवश्यक छँदा लगालग तीन विकेट गुमाउँदै ऊ लक्ष्यभन्दा एक रन टाढा ४८ ओभरमा २२० रनमा समेटिन पुग्यो । ओपनर सन्दीप सुनार र देब खरेलले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै लुम्बिनिका लागि उत्कृष्ट सुरुवात दिलाउनुभयो । सन्दीप सुनारले २५ तथा देब खनालले २६ रनको योगदान दिए । सौरभ खनालले ३४ रनको योगदान दिनुभयो । विकेटकीपर ब्याट्सम्यान केसी प्रकाश ४१ रन बनाएर पेभेलियन फर्किनुभयो । कृष्ण कार्कीले ४१ रनको पारी खेलेर पेभेलियन फर्किदा लुम्बिनिले २१ बलमा पाँच रन ल्याउन आवश्यक थियो । पूछारका ब्याट्सम्यान जितेन्द्र सहनी सात रन बनाएर पेभेलियन फर्किनुभयो । जितका लागि एक रन आवश्यक छँदा दिपेन्द्र रावत रन आउट हुन पुग्दा लुम्बिनि ४८ ओभरमा २२० रनमा समेटिन पुग्यो ।
बागमतीका लागि बिपीन आचार्यले सर्वाधिक चार विकेट लिनुभयो । रामनरेश गिरी, तिलक भण्डारी र इशान पाण्डेले एक एक तथा गौतम केसीले दुई विकेट लिए ।
ओपनर आदिल खान र मध्यक्रमका ब्याट्सम्यान इशान पाण्डेको अद्र्धशतकमा बागमतीले लुम्बिनि समक्ष २२१ रनको औसत लक्ष्य प्रस्तुत गरेको थियो । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको १८ औं खेलमा बागमतीले लुम्बिनि समक्ष २२१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको बागमतीले उत्कृष्ट सुरुवात गर्यो । ओपनरद्वय आकाश थापा र आदिल खानले अद्र्धशतकीय साझेदारी गरे । आकाश थापा ३९ रन बनाएर पेभेलियन फर्केपनि अर्का ओपनर आदिल खानले ५५ रनको पारी खेलेर टोलिको योगफल १२८ रनसम्म पुर्याउनुभयो । उहाँले ८७ बलको सामना गर्दै पाँच चौका र तीन छक्का लगाउनुभयो ।
मध्यक्रममा बिभत्सु थापा डक आउट हुँदा पृथु बाँस्कोटा २९ रनको योगदान दिनुभयो । इशान पाण्डेले ५३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५१ रनको योगदान दिनुभयो । कप्तान ज्ञानेन्द्र मल्ल १४ रन बनाएर एलबीडब्ल्युको धरापमा पर्नुभयो । बिपीन आचार्य, गौतम केसी र राम नरेश गिरीले दोहोरा योगफल समेत छुन सकेनन । नन्दन यादबले ११ रन बनाएर अविजित रहँदा बागमतीले ५० ओभरमा नौ विकेटको क्षतिमा २२० रनको योगफल तयार गर्न सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्