सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ ।

चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो खेल उहाँको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लाग्नुभएको हो ।लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।

होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाउनुभएको थियो । नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो ।

अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उहाँ प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित हुनुभएको व्यवस्थापक शिवाकोटीले जानकारी दिनुभयो । उहाँ बुधबार क्वारेन्टाइन मुक्त हुनुभएको हो ।

उहाँ सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।

बिगबास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया जानुभएको हो ।

क्वारेन्टाइन अवधि सकिएपछि उहाँ नियमित अभयासमा जुट्नुभएको व्यवस्थापक शिवाकोटीले बताउनुभयो । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ ।

उहाँले तेस्रो पटक बिगबास लिग खेल्न लाग्नुभएको हो । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेल्नुभएको थियो । ती दुई याममा उहाँले कूल २० खेल खेल्दै २६ विकेट लिनुभएको थियो ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट सङ्क्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उहाँ अष्ट्रेलिया उड्नुभएको थियो ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्