विद्युतीय ग्रीड आधुनिकीकरणका लागि १८ अर्ब २५ करोडको ऋण सम्झौता

काठमाडौं- नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग रु १८ अर्ब २५ करोड (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका इञ्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गर्नुभएको हो ।

सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत् प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत् ग्रीडको आधुनिकीकरण गरी विद्युत् आपूर्तिलाई दिगो र भरपर्दो बनाउने तथा नेपाल विद्युत् प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिब रु २२ अर्ब ८१ करोड (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकामा रु १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी रु चार अर्ब ५६ करोड (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र प्राधिकरणको स्रोतबाट व्यहोरिने छ ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत् चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने ऊर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । सो आयोजनाको कार्यान्वयन गर्ने निकाय विद्युत् प्राधिकरण हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्