चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको काम अन्तिम चरणमा

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङखण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । आयोजनाको बागलुङ खण्डअन्तर्गत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोलासम्मको सडक १० मिटर चौडा बनाउने काम ८० प्रतिशत सकिएको हो ।

कोरोना महामारीका कारण भएको लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिएको नेपाली सेनाले आगामी जेठ १५ गतेसम्म आयोजना हस्तान्तरण गर्नेगरी काम चलिरहेको जनाएको छ । आयोजना निर्माणको जिम्मा लिएको सेनाले पछिल्लो समय अधिकांश स्थानमा भिर, पहरा र चट्टान काटेर सडकलाई १० मिटर चौडा बनाइरहेको छ ।
बागलुङखण्डअन्तर्गतको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक भने सेनाले गत वर्ष नै सडक विभागको कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेको थियो । बलेवा विमानस्थलदेखि केही अघि बागलुङ नगरपालिकामा पर्ने खण्डमा पर्खाल लगाउने र माटो पन्छाउने काम मात्रै बाँकी छ ।

“जैमिनी नगरपालिकामा पर्ने सबै खण्डमा काम चलिरहेको छ । कुनै अवरोध नभए जेठमा हामीले जिम्मेवारी हस्तान्तरण गर्छौं”, नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले भने, “चिसोमा काम गर्नेहरु कम पाइन्छन् तर हामीले रोक्ने छैनौँ ।” बागलुङ खण्डअन्तर्गत २४ किलोमिटर १६० मिटर सडक फराकिलो बनाउने काम चलिरहेको छ ।

जैमिनी नगरपालिका–८ छिस्तीको बाघखोरमा बम विस्फोट गरेर चट्टान कटानको काम भइरहेको भट्टराईले बताए । “केही ठाउँमा ब्लास्टिङको काम पनि बाँकी छ, केही ठाउँमा वाल लगाउनुपर्ने छ”, उनले भने, “छिटफुट काम रहेकाले छिट्टै सकिन्छ भन्नेमा छौँ ।” उक्त खण्डमा सबैभन्दा कठिन मानिएको जैमिनी नगरपालिका–५ को भिर र वडा नं ६ को काभ्रेको भिरमा चट्टान फोड्ने काम सकिएको भट्टराईले बताए ।

करिडोर फराकिलो भएपछि सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोरला पुग्न सवारी साधनलाई सहज हुनेछ । सेनाको निर्माण कार्यदलले बागलुङ र गुल्मीको समेत गरी ३८ किलोमिटर सडक फराकिलो बनाउनका लागि चालू आर्थिक वर्षमा रु १८ करोड २५ लाखमा जिम्मेवारी पाएको थियो ।

भारतको सुनौली नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने ३४५ किलोमिटर दूरीको यो करिडोर अहिलेसम्मकै छोटो मार्ग भएको आयोजनाले जनाएको छ । करिडोरको गुल्मी खण्डमा कालोपत्रको कामसमेत शुरु भएको छ ।

-रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्