द्वन्द्वकालमा लुटिएको ३ किलो सुन भएन फिर्ता

द्वन्द्वकालमा सुरक्षाका लागि बैंकमा राखेका ३०० पोका (स्थानीयवासीको दाबीअनुसार तीन किलो) सुन बैंकबाटै लुटिएको घटनाको विस्तृत छानबिन नहुँदा प्रचौंडी क्षेत्रका स्थानीयवासी मर्कामा परेका छन् । द्वन्द्वका बेला सुरक्षाको कारण देखाएर नेपाल बैंक लिमिटेडको बैतडी प्रचौंडी शाखा २०५७ कात्तिक २२ गते जिल्ला सदरमुकाम बैतडी सरेको र सदरमुकाको सुरक्षित स्थानबाटै बैंक लुटिएपछि प्रचौंडी क्षेत्रका स्थानीयले राखेको सुन चोरी भएको जनाएको छ ।

झण्डै दुई दशकसम्म पनि सुन फिर्ता पाउन नसकेको प्रचौडीका स्थानीय बासिन्दा धनबहादुर बोहराले बताए । आफ्नो घरपरिवारले बैंकमा राखेको अढाइ तोला सुन र सोको क्षतिपूर्ति हालसम्म पनि पाउन नसकेको बोहराले बताए । त्यतिबेला एक तोला सुनको ६ हजार रुपैयाँ थियो । त्यति बेलाको मूल्य अनुसार रु ४ लाखभन्दा बढीको सुन प्रचौंडीका स्थानीयवासीले बैंकमा राखेका थिए ।

सदरमुकामबाटै बैंक लुटियो भन्ने खबर मात्रै पायौं । अहिलेसम्म कसले किन लुट्यो भन्ने बारेमा कुनै छानबिन गरेन । रिपोर्ट सार्वजजिक गरिएको छैन । बोहराले भने, “बैंकबाट यति धेरै ठूलो परिमाणमा सुन लुटिएको बैतडीमा पहिलो घटना हो ।” तर राज्यले कुनै छानबिन नगरेको प्रचौडीका स्थानीयवासीले गुनासो गरेका छन् ।

छानबिन गरेर जनताको सुन फिर्ता गर्न आफूले बैंक र सरकारप्रति माग गरेको स्थानीय नेता रमिल बमले बताए । बैंक लुटपाटको घटनापछि नेपाल बैंक लिमिटेडको बैतडीको प्रचौडी शाखा, डडेल्धुराको जोगबुढा शाखा, दार्चुलाको गोकुलेश्वर र लटैनाथ, डोटीको जोरायल र बझाङको बिचगडा शाखालाई एकीकृत गरी हाल संयक्त रुपमा नेपाल बैंक लिमिटेड डडेल्धुरा जिल्ला सदरमुकाममा स्थापना भई सञ्चालनमा आएको डडेल्धुराका शाखा प्रबन्धक रामचन्द्र जोशीले बताए ।

बैतडी, दार्चुला, बझाङ, डोटी र शाखा हालसम्म पुनःस्थापना हुनसकेका छैन । प्रचौंडीवासीले आफ्नो सुन फिर्ता हुनुपर्ने र बैंकको शाखा पनि चाहिने माग गरेको तर यता बैंक डडेल्धुरा शाखाका अनुसार प्रचौंडी शाखाको चोरी भएको सुन ३०० जनामध्ये ९४ जनाले सुन बराबरको रकम फिर्ता गरिसेको प्रबन्धक जोशीले बताए ।

सर्वोच्च अदालतबाट २०६४ मङ्सिर २८ गतेको फैसला अनुसार डडेल्धुरा शाखमा सम्पर्क गर्ने सूचना गोरखापत्रमा २०७० असार १० गते प्रकासित गरिएको र डडेल्धुरा शाखाबाट बैतडीका ९४ जनाले करिब एक किलो ५०० ग्राम सुन बराबरको रकम फिर्ता गरिएको डडेल्धुरा शाखाले जनाएको छ । अन्य २०६ जना ऋणी सम्पर्कमा नआएकाले अब तोकिएको म्यादभन्दा बढी समय नाघी सकेको सुनको मूल्यभन्दा दोब्बर पैसा चुक्ता गर्नुपर्न भएकाले अन्य सुन धनीहरु नआएको हुनसक्ने शाखा प्रबन्ध जोशीले बताए ।

-रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्