मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड–दुर्गम बन्यो सुगम !

गलकोट- राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्ड लामो समयदेखि अलपत्र अवस्थामा छ । बागलुङको दुर्गम मानिएको निसीखोला, ढोरपाटन, बडिगाडलगायतका क्षेत्रमा कालोपत्र भएर सुगम बनेको सन्दर्भमा सुगम मानिएको जिल्लाकै सदरमुकाम बागलुङ बजार नै दुर्गम भएजस्तो देखिएको छ । निसीखोलाबाट सरर कालोपत्र सडकमा गुड्दै आएका यात्रुहरु घोडाबाँधे आएपछि हिउँदमा धुलो र बर्सातमा हिलोमा फस्दै सदरमुकाम आउनुपर्ने बाध्यता अहिले पनि कायमै छ ।

ठेक्का सम्झौता भएको पाँच वर्षसम्म कालोपत्र हुन नसकेको लोकमार्गमा अहिले फाट्फुट काम भएको देखिन्छ । निर्माण व्यवसायीले बागलुङ सदरमुकाम खण्डमा कालोपत्र गर्ने गरी अब गति लिने बताउँदै आएका छन् । मध्यपहाडी लोकमार्ग कालोपत्र हुन नसकेको विषयमा सर्वत्र चासो बढेपछि लोकमार्ग आयोजना कार्यालय पर्वतले कालोपत्र गर्नका लागि लामो समयपछि पहल थालेको छ ।

लोकमार्गका कारण दुर्गम मानिएको बागलुङको पश्चिम क्षेत्रका सबैजसो सडक कालोपत्र भएर सुगम बनिसकेका छन् । तर जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि घोडाबाँधे खण्डको सडक ठेक्का सम्झौता भएको पाँच वर्षसम्म पनि कालोपत्र हुन सकेको छैन । कालोपत्र हुन नसक्दा हिउँदमा धुलाम्मे र बर्सातको समयमा हिलाम्मे यात्रा गर्नुपर्ने बाध्यता छ । आयोजनाको ट्र्याक खोलेको २० वर्ष बितिसक्दासमेत कालोपत्र नभएकामा यहाँका जनप्रतिनिधि, स्थानीय प्रशासन, नेताहरुले चर्को आलोचना खेप्दै आएका छन् ।

आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीको पहल र जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आइतबार ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । जसलाई बागलुङमा सकरात्मक पहलका रुपमा समेत लिइएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डका मुख्य ठेकदार, जनप्रतिनितधि, राजनीतिक दल, पालिका प्रमुखहरुले समेत सामूहिक रुपमा कालोपत्रका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

ठेक्का सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि कालोपत्र नहुनु गम्भीर लापरबाही भएको भन्दै सरोकारवालालाई जवाफदेही बनाउन ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि राखेर स्पष्टीकरण लिने र आगामी प्रतिबद्धता लिने काम भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो । “कार्यालय प्रमुख भएर आएको लामो समय भएको छैन तर यस अवधिमा थुप्रै सकारात्मक पहल गरेको छु, सरोकारवालासँगको समन्वयमा सडक बन्न नसकेको यथार्थ हो”, मरासीनीले भन्नुभयो, “सबैको पहलमै सडक कालोपत्र हुनेमा आशावादी छौँ, पहिलोपटक मुख्य ठेकेदारहरुलाई जिल्ला झिकाएर प्रजिअले निर्देशन गर्नुभएको छ, अरू सरोकारवालाले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।”

गण्डकी प्रदेशका सांसद चन्द्रबहादुर बुढाले अहिलेसम्म लोकमार्ग कालोपत्र नहुँदा यहाँका जनताले ठूलो समस्या भोगेकाले अब यसबाट निर्माण कम्पनी भाग्ने छुट नभएको बताउनुभयो ।

किन भएन कालोपत्र ?

पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा कालोपत्र हुन नसक्नुमा धेरै कारण छन् । पहिलो त निर्माण कम्पनीको चरम लापरबाही र बेवास्ता हो । दोस्रो, मध्यपहाडी आयोजना कार्यालयले अनुगमन गरेर निर्माण कम्पनीलाई जिम्मेवार बनाउन नसक्नु हो तर अरू धेरै कारण लोकमार्गको कामलाई अपेक्षाकृतरुपमा अघि बढाउन नसकिएको ठेकेदार कम्पनी बताउँछन् ।

सदरमुकाम खण्डको उपल्लाचौर अक्षेते बिहुँ खण्डमा खानेपानीको पाइप, सडकको मापदण्डमा परेका घर हटाउन, बोक्सेमा निरन्तररुपमा खसेको पहिरो व्यवस्थापन गर्न नसक्नु, भिर कटान गर्दा सवारी आवागमन बन्द गर्नुपर्नेलगायतका समस्याका कारण कालोपत्रमा ढिलाइ भएको निर्माण व्यवसायी दीपेन्द्रबहादुर शाहीले स्वीकार गर्नुभयो । “हामीलाई सुरक्षाको समेत व्यवस्था होस्, खानेपानीको पाइप हटाइयोस् हामी अबको जेठभित्र कालोपत्र गर्न तयार छौँ”, शाहीले भन्नुभयो, “नगरपालिकाले माटो फाल्ने जग्गा व्यवस्थापन गर्नसमेत समस्या छ, यी स्थानीय समस्यामा सहज समाधान भए हामी आगामी जेठभित्र कालोपत्रे गर्नेछौँ ।”

लोकमार्गको उपल्लो खण्डका रुपमा रहेको अक्षेते बिहुँ घोडाबाँधे खण्डमा समेत आवश्यक कच्चापदार्थको अभाव र माटो फाल्ने स्थान नभएका कारण सडक कालोपत्र गर्न समस्या भएको उक्त खण्डको कालोपत्र गर्ने जिम्मा पाएको निर्माण व्यवसायी सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । उपल्लो खण्डमा कच्चापदार्थका रुपमा गलकोट नगरपालिका–१ स्थित चौराहको वनबाट खरिद गरी ल्याए पनि पछिल्लो समय समन्वयको अभावमा कच्चापदार्थ ल्याउन नसकेको खड्काले जानकारी दिनुभयो । “रु सात सयमा लिने गरिएको कच्चापदार्थको दर बढाएर रु दुई हजार बनाइएको छ, स्थानीय तहले समन्वय गरेर कच्चापदार्थ ल्याउने व्यवस्था र सडक कटानको माटो फाल्ने व्यवस्था काँठेखोला गाउँपालिकाले गरोस्”, खड्काले भन्नुभयो, “जेठभित्र कालोपत्र गरेर सडक जिम्मा लगाउने गरी सबै तयारी अवस्थामा छ, कच्चापदार्थ निकाल्ने व्यवस्थापन भए पुग्छ ।” खानेपानीको पाइप हटाइरहेको र आवश्यक परे थप पाइप हटाउन संस्था तयार रहेको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधि सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

लोकमार्ग बागलुङ खण्डको वर्तमान अवस्था

कूल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले बताएको छ । बागलुङको समृद्धिसँग जोडिएको लोकमार्ग सबै कालोपत्र भएमा बागलुङले विकासमा फड्को मार्न सक्नेछ । यसलाई बागलुङको ‘लाइफलाइन’सँग समेत जोडिएको छ । यसमा पनि २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरिएको भए पनि अझैसम्म जम्मा ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

लोकमार्गको निसीखोला खण्डमासमेत १७ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । निसीखोला खण्डमा सडक निर्माणको अवस्था सन्तोषजनक रहे पनि सदरमुकाम खण्डमा ठेकेदारको चरम लापरबाही देखिन्छ । नेपालमा सबैभन्दा बढी लोकमार्गले छोएको भाग बागलुङ भएपछि विकासको मूल आधार बनेको छ । तर दुर्गमले सुगमलाई गिज्याइरहँदा समस्यामा परेको छ । तल्लो खण्डको माघ १२ र उपल्लो खण्ड माघ ९ गते ठेक्का मिति सकिँदैछ । उनीहरुलाई अन्तिम पटक छ महिनाको म्याद थप्नका लागि प्रक्रिया अघि बढाइएको आयोजना कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीको लिखित प्रतिबद्धता

ठेकेदार कम्पनीले मङ्सिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रिया कार्यक्रममा लिखितरुपमै २०७८ साल जेठ महिनाभित्रै सडक कालोपत्र गर्ने प्रतिबद्धता जनाएको छ ।

बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जेभीका आधिकारिक प्रतिनिधि दीपेन्द्र शाही र उपल्लो खण्डको ठेकेदार कम्पनी एमपी एसिएफ इसिसी जेभीका आधिकारिक प्रतिनिधि सूर्यबहादुर खड्काले अहिले भएको ढिलाइप्रति आत्मआलोचना गर्दै अबको छ महिनाभित्रै कालोपत्रको काम सक्ने लिखित प्रतिबद्धता जनाएका हुन् ।

यसका लागि लोकमार्ग निर्माणमा देखिएका खानेपानीको पाइप, कच्चापदार्थको अभाव, घरटहरा हटाउने र सवारी आवागमनलगायतका समस्यामा सबैको सहयोग र सहजीकरण भएमा जेठभित्रै कालोपत्र गर्ने बागलुङका जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवाला निकायसँग प्रतिबद्धता जनाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेल जानकारी दिनुभयो ।

सदरमुकाम नजीकै रहेको उपल्लाचौर–अक्षेते–खण्डको

खहरेको भीर कटानका लागि १५ दिन समय तालिका बनाएर लोकमार्ग बन्द गरी काम थालिने निर्माण व्यवसायीले जनाएको छ । यही मङ्सिर २५ देखि पुस १५ गतेसम्म खहरेको चट्टान काट्ने गरी अगाडि बढेको छ । आगमनलाई तालिका बनाएर बन्द गरी चट्टान कटान गर्न समन्वय गरिरहेको बागलुङका प्रजिअ सुरेश न्यौपानेले जानकारी दिनुभयो । “मैले सक्दो समन्वय गर्छु, सवारी साधन तालिका बनाएर बन्द गर्छु”, न्यौपानेले भन्नुभयो, “काम अगाडि बढाउन प¥यो, सडक कालोपत्र हुनुप¥यो, अब कुनै पनि बहानामा छुट दिन सकिँदैन ।”

सकारात्मक सङ्केत

ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि उपस्थित भएर लोकमार्ग सदरमुकाम खण्ड कालोपत्रका लागि लिखित प्रतिबद्धता नै जनाएपछि लोकमार्ग निर्माणको आशा जागेको छ ।

लामो समय सम्पर्कमा नरहेका ठेकदारहरु सम्पर्कमा आउने, क्रसर उद्योग स्थापना गर्ने र जेठसम्म कालोपत्र गर्ने लिखितरुपमा जिल्ला प्रशासन कार्यालयमा प्रतिबद्धता जनाएकाले ढिलै भए पनि सडक कालोपत्र हुनेमा सरोकारवाला आशावादी देखिएका छन् । जिल्ला प्रशासन कार्यालयसमक्ष दुवै निर्माण व्यवसायीले लिखितरुपमा जेठभित्रै कालोपत्र गर्ने प्रतिबद्धता जनाउनु, लोकमार्गमा देखिएका विद्यमान बाधाहरुमा स्थानीय प्रशासन र सम्बन्धित पालिकाले समन्वय सहजीकरण गर्नेलगायतका विषयमा प्रतिबद्धता जनाएकाले लोकमार्ग कालोपत्र हुनेमा सकारात्मक सङ्केत देखिएको काँठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । “केही बाधा समस्या परे हामी सुल्झाउँछौ, तपाईंहरु काममा तीव्रता दिनुस् भनेका छौँ”, अध्यक्ष थापाले भन्नुभयो, “लिखितरुपमा प्रतिबद्धता जनाएर कालोपत्र गर्ने निर्णय भएकाले केही बढी उत्साहित भएका छौँ ।” काँठेखोलामा पर्ने लोकमार्गको खण्डमा कुनै समस्या नरहेको, आवश्यक कच्चापदार्थ र माटो फाल्ने व्यवस्थाका लागि तत्काल समन्वय र व्यवस्थापन गर्ने बताउनुभयो ।

दुर्गममा लोकमार्गका कारण विकासले तीव्रता पाएको वर्षांै बित्दासमेत सदरमुकाम सेरोफेरोमै राष्ट्रिय गौरवको आयोजनाको यस्तो बिजोग अवस्था आउनु दुःखद भएकाले ढिलै भए पनि निर्माण कम्पनीले लिखित प्रतिबद्धता जनाउनु सकारात्मक भएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो । “निसीखोला, ढोरपाटन, बडिगाड र गलकोटमा सडक कालोपत्र भएको छ, सदरमुकाममा कामकाजले आउँदा बाटोमै फसिएर बस्नुपर्ने अवस्था छ”, अध्यक्ष पाइजाले भन्नुभयो, “दुर्गम क्षेत्रले सुगम मानिने बागलुङ बजार क्षेत्रलाई गिज्याइरहेको भान भएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्