नेपाली भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय सुरक्षाकर्मीको अवरोध

परासी- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ कठहवामा कल्भर्ट निर्माण गर्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । हुलाकी सडक विस्तारको क्रममा दशगजा नजिक निर्माणधिन कल्भर्टमा भारतीय अर्धसैनिक बल एसएसबीले सोमबारबाट अवरोध गरेर निर्माण कार्यलाई अगाडी बढाउन दिएको छैन ।

निर्माण गर्न लागिएको कल्भर्ट दशगजा क्षेत्रमा पर्ने भन्दै भारतीय पक्षले अवरोध गरेको ठेकेदार कम्पनी कन्टेक प्रालिका प्रतिनिधि दीपक थापाले बताए । तर, यसअघि सडक विस्तारको क्रममा भारतीय पक्षसँग सहकार्य गरेर अगाडी बढाएको भएपनि अहिले आएर अवरोध गरेको थापाले बताए ।

भारतीय पक्षले काममा अवरोध गरेपछि प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकसहित जिल्लाका सुरक्षा प्रमुखको टोलीले स्थलगत निरीक्षण गरेको छ । ‘विवाद उत्पन्न भएपछि स्थलगत निरीक्षण गरिएको छ । अब यसलाई नापी विभागमा अधिकारीसहितको टोलीले नाप नक्सा गरेपछि मात्र एकिन गरेर भन्न सकिन्छ,’प्रजिअ पाठकले भने,‘दुवै देशका अधिकारीको समन्वयमा काम अगाडी बढ्ने वातावरण मिलाइनेछ ।’

भारतीय सिमावर्ती कठहवादेखि उत्तरतर्फ १० किलोमिटर सडक निर्माण भइरहेको छ । २२ करोडमा ठेक्का पाएको ठेकेदार कम्पनीले सातवटा कल्भर्टसहित १० किलोमिटर सडक निर्माणको काम भारतीय सीमा नजिकैबाट सुरु गरेको छ ।

-कान्तिपुरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्