नेकपा सचिवालय बैठक १ बजे बस्दै, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को सचिवालय बैठक आज शनिबार १ बजे बालुवाटारमा बस्दैछ । आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुनेछ ।

यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो । यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तर्फबाट बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सबै तयारी भएको छ । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्नुहुँदै पार्टीको आगामी कार्यदिशाबारे समेत त्यसमा विषय समेट्नु हुनेछ ।

यसअघि अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको बुँदागत तथा तथ्यगत जवाफ प्रतिवेदनमा आउने थापाले बताउनुभयो । उहाँकाअनुसार प्रतिवेदनमा जवाफमात्र नभई पार्टीले गर्नुपर्ने काम र समस्या समाधानको पहलसमेतको विषय प्रस्तुत हुनेछ ।

यसअघि बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी बैठक बस्ने मिति तय गरिसकेको छ । त्यस्तै, २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सचिवालय बैठकमा आज अध्यक्ष ओलीको प्रस्ताव पेश भएपछि त्यसमा धारणा राख्न तथा एजेण्डामा छलफल गर्न थप दुई तीन बैठकको आवश्यकता पर्ने नेताहरुको बुझाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्