मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान

काठमाण्डाै – नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले शुक्रबार विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमासअनुसार कात्तिकशुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गर्नुभएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले चान्द्रमासअनुसार नै चाडपर्व मनाउने गर्छन् । मङ्सिर १५ गतेसम्म कात्तिक शुक्ल पक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

यस वर्ष गएकाे असाेज महिनामा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मङ्सिर १ गते परेको हो ।

भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट कुल, परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर एकआपसमा गच्छेअनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर आपसी सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसै अनुरूप मनाउन पनि समितिले आह्वान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्