हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा, शिक्षामा उल्लेख्य सुधारको प्रयास

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको हेलम्बु मोडेल विद्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने उद्देश्यले मोडेल विद्यायल निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । माध्यमिक तहको पढाइ एउटै थलोमा सञ्चालन गर्ने उद्देश्यले आवासीय विद्यालय भवन निर्माण थालिएको हो । ‘गाउँपालिकाभित्रका नौदेखि १२ कक्षाका विद्यार्थी यो विद्यालयमा पढ्छन्,’ अध्यक्ष शेर्पाले भन्नुभयो । उहाँका अनुसार यो विद्यालयमा पठनपाठन सञ्चालन भएपछि गाउँपालिकाका अन्य विद्यालयबाट माध्यमिक तह हटाइनेछ । सीमित स्रोत, साधन एकीकृत गरेर गुणस्तरीय शिक्षा दिन यो नीति अघि सारिएको उहाँले जनाकारी दिनुभयो ।

प्रस्तावित नमुना आवासीय विद्यालयका विद्यार्थीले आफैं कृषि उत्पादन गर्ने र पकाएर खानेछन् । करिब एक हजार पाँच सय विद्यार्थी पढ्ने अनुमान गरिएको सो विद्यालयको व्यवस्थापनको नेतृत्व गाउँपालिकाद्वारा नियुक्त निर्देशकले गर्नेछन् ।

विद्यालय भवनको निर्माण अन्तिम चरणमा पुगेसँगै छात्रावास र शिक्षकहरुको लागि आवस भवन पनि यसै वर्ष भित्र निर्माण गरिने छ । निर्माण सम्पन्न पश्चात नयाँ शैक्षिकसत्रबाट पढाइ सुरु हुने अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माध्यमिक तहको शिक्षा आर्जन गर्न अहिले २ घण्टा हिडेर जानुपर्ने बाध्यता छ, अहिले मावि हरुमा शिक्षकहरुको संख्या आधा मात्रै छ, सबै माविहरुका शिक्षकहरुको पदपुर्ति गर्ने भने ५०/६० जना शिक्षक थप्नुपर्छ ।’ अध्यक्ष शेर्पाले थप्नुभयो, ‘त्यो पैसाले विद्यार्थीहरुलाई निःशुल्क पढाउन सकिन्छ ।’

अहिले कक्षा १२ सम्मको पढाई गर्ने र निकट भविष्यमा नै उच्च शिक्षा पठन पाठनकालागि क्याम्पस समेत खोल्ने गाउँपालिकाले निति लिएको छ । यो विद्यालयमा संस्कृत र सम्भोट विषयको पढाई समेत हुनेछ । हेलम्बु मोडेल विद्यालय निर्माण पश्चात हेलम्बु गाउँपालिकामा विद्यालय छोड्नेहरुको संख्या घट्ने अध्यक्ष शेर्पाको विश्वास छ । हेलम्बुलाई शिक्षाको हबको रुपमा विकास गरि नेपालकै नमुना बनाईने अध्यक्ष शेर्पाले बताउनुभयो ।

नमुना विद्यलायको अवधारण अघि नसारे अबको १५/२० वर्षमा सामुदायिक विद्यालयहरु बन्द हुने अवस्थामा रहेको उहाँको आकलन छ । अहिले सामुदायिक विद्यालयहरु विपन्न परिवारका बालबालिकाले पढ्ने विद्यँलयको रुपमा रुपान्तरण भएकाले पनि मोडेल विद्यलायको आवश्यकता रहेको शेर्पाले बताउनुभयो । हेलम्बुमा अहिले ३४ वटा विद्यालय छन् जसमध्ये १० वटा विद्यालयमा कक्षा १० सम्मको पढाई हुन्छ भने ३ वटा विद्यालयमा कक्षा १२ सम्मको पढाई हुन्छ । गाउँपालिकामा १ क्याम्पस रहेको छ । मोडेल विद्यालयको निर्माण पश्चात गाउँपालिकाका माध्यमिक विद्यालयहरु बन्द गरि एकै ठाउँमा पढाईने अध्यक्ष शेर्पाले बताउनुभयो । मोडेल विद्यालय अपाङ्गमैत्री हुनेछ ।

तस्विर : गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्