स्याफ्रु–मैलुङ राजमार्गको काम अगाडि बढ्यो, नाली र कालोपत्र हुँदै

रसुवा – तीन वर्ष अगाडि कच्ची साधारण मार्गका रूपमा खोलिएको स्याफ्रु – मैलुङ राजमार्गमा सुधारका काम अगाडि बढेको छ । अन्तरराष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली र कालोपत्र समेतका काम गराउन पहिलो चरणमा सडक सतह मिलाउने काम अगाडि बढेको हो ।

कोरोना भाइरस नियन्त्रणको मापदण्ड पूरा गरी केही उपकरणका साथै ४० भन्दा बढी मजदूर परिचालन भएका छन् । नियमानुसार निर्माण व्यवसायी कम्पनी छनोट गर्ने काम सम्पन्न भई गत भदौदेखि स्थलगत रूपमा राजमार्ग सुधारको काम अगाडि बढेको प्राविधिकहरूले बताएका छन् ।

गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार राजमार्ग सुधारका काम सम्पन्न गराउन भारतीय कन्स्ट्रक्सन कम्पनी तथा सिद्धि शाही जेभीलाई जिम्मा दिइएको छ ।
रू एक अर्ब ४५ करोडका लागतमा सम्पन्न हुने राजमार्गको सतह ११ मिटर फराकिलो हुने छ ।सुधारको काम ३० महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भइसकेको बताइएको छ ।
नेपाल–चीनबीच व्यापारिक कारोेवार गर्ने एक मात्र नेपालको जेठो उत्तरीनाका रसुवागढीको व्यवस्थापनअन्तर्गत गल्छीदेखि रसुवागढीसम्म डबल लेनको राजमार्गका पूरै भागमा सुधारको काम भइरहेको प्राविधिकहरूले जानकारी दिएका छन् ।

भौगोलिक कठिनाइ भएका स्थानमा नेपाली सेनाले डबल लेनको ट्रयाक निर्माण गरी रक्षामन्त्री ईश्वर पोखरेलमार्फत सडक विभागमातहतको सुधार आयोजनालाई हस्तान्तरण भएको थियो ।

उक्त राजमार्गमा थप मर्मत सुधार एवं कालोपत्र गर्ने काम सम्पन्न भएपछि सामान आयातनिर्यातमा अन्यन्तै सरलता आउने व्यापारी व्यवसायीले बताएका छन् । धादिङको गल्छीदेखि नुवाकोटको देवीघाट, ढुङ्गे र बेत्रावती, रसुवाको मैलुङ, स्याफ्रुबेँसी हुँदै रसुवागढी अन्तरराष्ट्रिय सिमानासम्म ८५ किमी दूरी छ । राजमार्गमा निर्माण गर्नुपर्ने ३२ सानाठूला पक्की पुलमध्ये तीन वटाको काम ९० प्रतिशत र आठ वटाको काम करीब ५० प्रतिशत भइसकेको छ ।

निर्माण गर्न बाँकी २१ पुलको भने निर्माण कम्पनी नियुक्तिका लागि कानूनी प्रक्रिया अगाडि बढिरहेको प्राविधिकले जनाएका छन् । बेत्रावतीदेखि कालिकास्थान, धुञ्चे हुँदै स्याफ्रुबेँसीसम्म ५४ किमी तथा बेत्रावती– मैलुङतर्फको दूरी २९ किमी छ ।

नदी किनारबाट निर्माण भएको राजमार्ग उकालोओरालोरहित भएकाले मोटर गुडाउन सजिलो र दुर्घटनामा समेत न्यूनीकरण हुने आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो । यस्तै मैलुङतर्फको राजमार्गमा सुधार अगाडि बढेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्