अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिनु भएको छ ।

भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “नयाँ चुनौतीलाई सफलतापूर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।”

उहाँले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिनुभयो । गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराउनुभयो । सीमानाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाईराख्न समेत उहाँले निर्देशन दिनुभयो । उहाँले प्रहरी समायोजनबारेको प्रस्ताव पास भईसकेको जानकारी दिँदै अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने विश्वास दिलाउनुभयो । उहाँले दशैं तिहारजस्ता चाडपर्व नजिकिएको भन्दै कालोबजारी र महङ्गी नियन्त्रणका लागि नियमित रुपमा बजार अनुगमन र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिनुभयो ।

गृहमन्त्री थापाले चाडपर्व लक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । कोरोनाका कारण सातै प्रदेशमा लामो समयदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी रोकिएकोमा आज प्रदेश नं १ मा आयोजना भएको हो । गोष्ठीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतले सम्बोधन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्