भारतको आनाकानीका कारण नेपाल–भारत नियमित बैठक ठप्प

काठमाडौं – नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठक नबसेको हो । नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले दुईपटक भारतलाई प्रस्ताव गरेको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल नेपालले बैठकको मिति तोकेर प्रस्ताव पठाए पनि भारतका तर्फबाट कुनै प्रतिक्रिया नआएको जानकारी दिइन्। सेप्टेम्बरमा बैठकको मिति तोकेर नेपालले प्रस्ताव पठाएको थियो । ‘यसअघि हामीले प्रस्ताव पठाएको थियौं तर बैठक गर्न सकेनौं’, प्रवक्ता नेपालले भनिन्। उनले पछिल्लोे प्रस्तावको प्रतिक्रिया छिट्टै आउने आशा व्यक्त गरिन् ।

विगतमा अगस्ट अन्तिम र सेप्टेम्बर पहिलो साता बीडब्लूजीको बैठक हुने गरेको थियो। एक वर्ष नेपाल र अर्को पटक भारतमा बैठक सञ्चालन हुँदै आएको छ । गत वर्ष अगस्ट अन्तिम साता (२८–३०) भारतको उत्तराखण्डको राजधानी देहरादुनमा बैठक बसेको थियो ।

भारतले वर्षौंदेखि अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालले आफ्नो नक्सामा समेटेपछि भारतीय पक्ष रुष्ट हुँदै आएको छ । भारतले सामान्य संवादै बन्द गरेको थियो। भारतले २०७६ कात्तिक १६ मा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि नेपालले ती भूभाग आफ्नो भएको धारणा सार्वजनिक गरेको थियो । लिम्पियाधुरासहित भूभाग आफ्नो भएको नेपालको अडानपछि भारत असन्तुष्ट रहँदै आएको छ । नेपालले मिति तोकेर वार्ता प्रस्ताव गरे पनि भारतले त्यसलाई महत्व दिएको छैन । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रमुख दूत बनाएर पठाउने नेपालको प्रस्तावलाई भारतले स्वीकारसमेत गरेन । उल्टै नेपालको भूभाग भएर मानसरोवर जाने बाटो उद्घाटन ग¥यो । त्यसपछि नेपालले नयाँ नक्सा जारी गरेको हो। तब लामो समय संवादहीनताको अवस्था नै रह्यो ।

भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच संवाद भएपछि वार्ता ढोका खुलेको अनुमान गरिएको थियो । तर, त्यसपछि वार्ताको तयारी भइरहेको जनाइए पनि सीमासम्बन्धी कुनै वार्ता, बैठक हुन सकेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्