सडक सेवा शुल्कको विरोध, कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी आन्दोलन

सडक सेवा शुल्कको विरोधमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सवारीधनीहरूले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् । सडकमा सवारी साधन गुडाएबापत नगरपालिकाले कर लिन थालेपछि त्यसविरुद्ध नेपाली काँग्रेसको अगुवाइमा सवारी धनीहरू आन्दोलनमा उत्रिएका हुन् । सडक अवरुद्ध हुँदा मध्याह्नदेखि सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
नगरपालिकाले सडक सेवा शुल्क कर उठाउनका लागि रु १० लाखमा ठेक्का सम्झौता गरेको छ । नगरपालिकाले दोहरो कर लिन थालेपछि आन्दोलनमा उत्रिनु परेको सवारीधनीहरूको भनाइ रहेको छ ।

ट्रक, ट्याक्टर, अटोरिक्सा, जीपलगायतका सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्न थालेपछि सवारीधनीहरू आन्दोलनमा उत्रिएका हुन् । ठेकेदारले नगरपालिकाभित्रका सडकमा गुड्ने सवारी र ढुवानीका साधनबाट रु ५० देखि रु १०० सम्म असुल्न थालेपछि सवारीधनीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुपरेको बताएका छन् ।

नगरपालिकाले सवारी साधनबाट शुल्क असुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने व्यवसायी हरिबहादुर गैरालले बताउनुभयो । उहाँको संयोजकत्वमा सङ्घर्ष समितिसमेत गठन गरिएको जनाइएको छ । गत शुक्रबारसमेत सवारीधनीहरूले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए ।

नगर प्रमुख कर्णबहादुर हमालले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुल्कका लागि ठेक्का सम्झौता गरेको बताउनुभयो । उहाँले सडक अवरुद्ध गर्दा सर्वसाधारणले दुःख पाउने हुँदा वार्ताबाटै समस्या समाधान गर्न आह्वान गर्नुभयो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्