सिमीकोटमा यो वर्ष पनि सडक पुग्न कठिन

FILE PHOTO

हुम्ला – देशभरका ७७ जिल्लामध्ये सडक सञ्जालसँग जोडिन बाँकी रहेको एक मात्रै जिल्ला हुम्ला सदरमुकाम सिमीकोटमा चालु आर्थिक वर्षमा पनि सडक पुग्न कठीन देखिएको छ । हुम्लाको सदरमुकामसम्म सडकको ट्र्याक खोल्न सडक विभाग र नेपाली सेना दुवै लागिपरेका छन् । सडक विभागले निर्माण गरिरहेको झण्डै एक किमी सडकका कारण चालू आर्थिक वर्षमा पनि सिमिकोट सडक पुग्न कठीन हुने देखिएको उत्तर दक्षिण करिडोर निर्देशनालयले जनाएको छ ।

सबैतिरबाट सहयोग भएमा चालु आवमा सक्ने गरी लागिएको निर्देशनालयका प्रमुख शिवप्रसाद नेपालले बताए । उनका अनुसार नेपाली सेनाले ब्लास्ट गर्न सहयोग र स्थानीयवासीले जग्गामा सहजीकरण गर्दा मात्रै यो वर्ष सकिने देखिएको छ । आयोजनाले निर्माण गरिरहेको ५० किमीमध्ये ३५ किमी ट्र्याक खोलिसकेको छ भने १५ किमी ट्र्याक खोल्न बाँकी छ । कर्णाली राजमार्ग आयोजनाले काम गरिरहेकामा दुई चट्टान क्षेत्र र दुई सजिलो क्षेत्र छ । चट्टान क्षेत्रमा ट्र्याक खोल्नका लागि आवश्यक उपकरण ढुवानी गर्न कठिन रहेको प्रमुख नेपालले बताए ।

ट्र्याक खोल्न बाँकी एक किमी कठीन भूगोल रहेको छ । असाध्यै ठूला चट्टान रहेको हुँदा काममा कठिनाइ रहेको छ । आयोजनाले पनि सलिसल्ला र सिमीकोट गरी दुवैतर्फबाट निर्माणको काम गरिरहेको छ । सजिलो ठाउँ काम गरिसकिएको र अप्ठेरो ठाउँमा काम गर्न आवश्यक उपकरण र विस्फोटक पदार्थ लग्ने काम भइरहेको उनले बताए । आयोजनाले निर्माण गरिरहेको स्थानमा विस्फोटक पदार्थ सिमीकोटदेखि ल्याएर सेनाको टोलीले काम गरिरहेको छ । अहिले सिमीकोटबाट सेनालाई हिँडेर आउनै तीन दिन लाग्छ । आयोजनाले तयारी गरेर बोलाउँदा अहिले महिनामा दुई वटा मात्रै विस्फिोटन हुनसक्ने अवस्था रहेको प्रमुख नेपालले बताए । उनले भने, “यही हिसाबले काम गर्दा यो वर्ष सकाउन पनि अप्ठेरो छ ।”

जहाँ विस्फोटन गर्ने त्यही सेनाको टोली गएर बस्दा बल्ल यो आवमा सकिने प्रमुख नेपालले जानकारी दिए । सेना त्यहाँ नजिकै बस्दा आज विस्फोटन गरेर भोलि सफा पर्सी फेरि विस्फोटन हुनसक्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो विषयमा सहजीकरण गर्न भन्दै रक्षा मन्त्रालयलाई अनुरोध गरेको छ । उनले भने, “उताबाट त्यहीँ अनुसार निर्णय आउँदा सजिलो हुनेछ ।” कालिकोटको खुलालदेखि हुम्ला सदरमुकाम सिमीकोटसम्म १२३ किमी सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । त्योमध्ये ११३ किमी ट्र्याक खोलिसकेको छ भने झण्डै १० किमी ट्र्याक खोल्न बाँकी छ । सो क्षेत्रमा आगामी वैशाखसम्म सक्ने गरी सेनाले निर्माण अघि बढाइरहेको छ ।

देशभरका अरु आयोजनामा जस्तै यो सडकमा पनि निर्माण व्यवसायीको कारण पनि ढिलाइ भइरहेको छ । निर्माणमा जति मान्छे र उपकरण चाहिने मात्रामा नलाने गरेर ढिलाइ गरिरहेको उनले बताए । उनले भने, “व्यवसायीले लगानीका हिसाबले एउटा उपकरण दुर्गममा तीन÷चार लाख रुपयाँ खर्च हुने हुँदा समयमा काम गर्न खोज्दैनन् ।” मौसमका कारणले पनि निर्माण सजिलो नभएको प्रमुख नेपालले बताए । हुम्लामा मौसमका कारण काम गर्न कठिनाइ रहेको छ । हिउँदमा हिउँ पर्ने हुँदा त्यो समयमा यहाँ सडक निर्माणको काम गर्न नसकिने उनले बताए । त्योबाहेक एक वर्षमा काम गर्ने अवधि जम्मा पाँच छ महिना मात्रै हुन्छ । उनले भने, “एकातिर भौगोलिक कठिनाइ एकातिर हिउँपर्ने हुँदा निर्माण सम्पन्न चाँडो गर्न सकिने देखिँदैन ।”

राजमार्गको निर्माणाधीन खण्डमा कतै नेपाली सेनाले र कतै सडक विभागले निर्माणको काम अघि बढाइरहेको छ । सडक निर्माणमा बजेटको भने समस्या नभएको निर्देशनालयले जनाएको छ । निर्देशनालयमा विगतका वर्षदखि नै बजेटको समस्या नभएको प्रमुख नेपालले बताए । उनले भने, “तीन राजमार्गमध्ये एउटामा बजेट कम हुँदा अर्को राजमार्गबाट हालेर पनि काम भइरहेको छ ।” यो राजामर्गको उत्तरमा चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहसम्म कूल लम्बाइ ५३१ किमी रहेको छ । उत्तर दक्षिण करिडोरअन्तर्गतका तीन राजमार्गमध्ये कर्णाली राजमार्ग पनि एक हो । लम्बाई पनि धेरै र भौगोलिक कठिनाइ भएकाले यो सडक कहिलेसम्म निर्माण सकिन्छ भनेर यकिन गरेर भन्न नसकिने जनाइएको छ । कालीगण्डकी र कोशी गरी अरु दुई राजमार्ग झण्डै चार÷पाँच वर्षमा कालोपत्र सम्पन्न गर्ने निर्देशनालयको योजना छ ।

यो राजमार्गमा त्योभन्दा बढी समय लाग्ने देखिएको छ । एउटा राजमार्गमा रु डेढ अर्ब बजेट राख्दा दुवै राजमार्ग चार÷पाँच वर्षमा लक्ष्य राख्दा पनि सम्पन्न हुने देखिएको हो । कर्णाली राजमार्गमा भने विभिन्न कठीनाइका कारण एक वर्षमा ५० किमी कालोपत्र गर्न कठिन छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखे पनि उत्तर–दक्षिण करिडोर यो वर्षसम्म सम्पन्न गर्ने भनी लक्ष्य निर्धारण गरिसकेको छैन ।-रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्