कोरोनाका कारण कर्णालीको स्वास्थ्यमा फड्को, २७ स्थानमा चिकित्सक उपलब्ध

सुर्खेत- कोरोना भाइरसको सङ्क्रमण मुलुकमा बढ्दै जाँदा यसले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा नयाँ अवसर जुटाइदिएको छ । विगतमा झाडापखाला, हैजा जस्ता सामान्य रोगबाट समेत मृत्युवरण गर्नुपर्ने यस प्रदेशमा अहिले कोरोनाकै कारण स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय विकास भएको छ । चिकित्सकको अनुहार देख्न नपाउने यस प्रदेशका दुर्गम ठाउँका बासिन्दाले अहिले विशेषज्ञ चिकित्सकबाट उपचार पाउन थालेका छन् । स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएका छन् । अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर जस्ता महìवपूर्ण उपकरण थपिएका छन् । व्यक्तिगत सरसफाइमा सुधार आएको छ । आयुर्वेदिक उपचारप्रति पनि ध्यान गएको छ । यी सबैको विकास कोरोनाकै कारण भएको स्वास्थ्यसँग सम्बद्ध पदाधिकारी बताउँछन् ।

२६ भेन्टिलेटर र ६२ आईसीयू बेड
कोरोना महामारी सुरु हुनुभन्दा अघि कर्णाली प्रदेशमा आठवटा आईसीयू बेड र आठवटै भेन्टिलेटर थिए । प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आईसीयू र तीनवटा भेन्टिलेटर तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीनवटा आईसीयू र पाँच भेन्टिलेटर थिए । अहिले कोरोना सङ्क्रमण रोक्न यी दुई अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर थपिएका छन् । हाल डोल्पा बाहेक अन्य सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा थप गरिएका छन् । स्थापना भएको वर्षाैं बित्दा पनि आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न नसकेका अस्पतालले कोरोना सङ्क्रमण सुरु भएको पाँच महिनाको अवधिमा आईसीयू र भेन्टिलेटर सेवा थप गर्ने अवसर पाएका छन् ।
अहिले कर्णाली प्रदेशमा २६ वटा भेन्टिलेटर र ६२ वटा आईसीयू बेड पु¥याइएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशक रिता भण्डारी जोशीले कोरोना सङ्क्रमण रोक्न अहिले प्रदेशमा भेन्टिलेटर र आईसीयू बेड थप गरिएको बताउनुभयो । आईसीयू बेड र भेन्टिलेटर थप हुनुलाई ठूलो उपलब्धि मानिएको छ । यस्तै कर्णालीका चार स्थानमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिएका छन् । सुर्खेतको प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दैलेख अस्पताल र रुकुम चौरजहारीमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना
गरिएका छन् ।

२७ स्थानमा चिकित्सक उपलब्ध
कर्णालीका अस्पतालमै चिकित्सक बस्न नमान्ने विगतको अवस्थामा अहिले परिवर्तन आएको छ । सबै जिल्ला र मुख्य स्थानमा चिकित्सक पु¥याइएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका १० जिल्लाका सदरमुकाम तथा पायक पर्ने स्थान छनोट गरी २७ स्थानमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएको छ । उक्त टोली ती स्थानमा बसेर नागरिकको सेवा गर्ने सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो । यस्तै कोरोना रोकथाम र प्रतिकार्यका लागि १७६ सामुदायिक नर्स, ३२ हेल्थ असिस्टेन्ट र २६ स्टाफ नर्स तथा अनमी करार सेवामा नियुक्त गरेर नागरिकलाई सेवा दिइएको छ ।

व्यक्तिगत सरसफाइमा वृद्धि
कोरोना सङ्क्रमण बढ्दै जाँदा व्यक्तिगत सरसफाइमा यहाँका नागरिकको ध्यान बढेको छ । साबुनपानीले हात धुनुपर्छ, सेनिटाइजर लगाउनुपर्छ, घुलमिल गर्नुहुँदैन भन्ने सोचको व्यापक विकास भएको स्वास्थ्य निर्देशक रिता भण्डारी जोशीले बताउनुभयो । उहाँले कोरोनाको सङ्क्रमण हुन नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिँदा अन्य रोगको सङ्क्रमण निकै कम भएको दाबी गर्नुभयो ।

आयुर्वेदिक पद्धतिमा आकर्षण
अहिले आयुर्वेदिक उपचार पद्धतिमा पनि आकर्षण बढेको छ । जडीबुटी प्रशस्त पाइने कर्णालीमा आयुर्वेदिक उपचार पद्धति विकास भएको छ । गुर्जाे, कुरिलो, अदुवा, टिम्मुर तथा बेसारको व्यापक प्रयोग गर्ने गरिएको छ भने विगतको तुलनामा आयुर्वेदिक औषधिको माग पनि बढेको निर्देशक भण्डारीले बताउनुभयो । यसका साथै योग, स्वस्थ जीवनशैली र आहार विहारका बारेमा पनि कर्णालीमा चेतना बढेको छ । कोरोना सङ्क्रमणबाट बच्न अपनाइएका विधिले स्वास्थ्य प्रतिको नागरिक चेतना पनि विकास भएको उहाँको भनाइ छ ।

यो खबर आजको गोरखापत्र दैनिक  मा ललित बसेलले लेखेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्